काठमाडौं। संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरु गरिएको छ ।
आगामी संसद अधिवेशनको पूर्वसन्ध्यामा संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले विवरण संकलन शुरु गरिएको हो । सचिवालयकाअनुसार संसद सदस्यहरूको व्यक्तिगत विवरण, फोटो र औँलाको छाप (फिंगरप्रिन्ट) संकलन भइरहेको छ ।
यसले संसदको उपस्थिति प्रणालीलाई डिजिटल बनाउन र सदस्यहरूको परिचय पत्रलाई थप सुरक्षित बनाउन सहयोग पुग्नेछ । सचिवालयले यसका लागि छुट्टै कक्षमा प्राविधिक टोली खटाएको छ । सचिवालयले संकलन गरिएका सबै विवरणहरू अत्याधुनिक प्रणालीमा सुरक्षित रहने सुनिश्चित गरेको छ ।
संकलन गरिएका बायोमेट्रिक डाटाहरुको प्रयोग संसदको सुरक्षा, उपस्थिति तथा मतदान प्रक्रियामा समेत गर्न सकिने गरी गृहकार्य भइरहेको बुझिएको छ ।
यसअघि पनि संसद्मा केही डिजिटल अभ्यासहरू शुरु भएपनि पूर्ण बायोमेट्रिक प्रमाणीकरण भने यसपटक मात्र व्यवस्थित रूपमा अघि बढाइएको हो । यस कार्यले संसदको कामकारबाहीमा थप चुस्तता ल्याउने अपेक्षा गरिएको छ ।