लण्डन । विहीवार दिउँसोदेखि पाकिस्तानको एक हिमाल क्षेत्रमा बेपत्ता भएको भनिएको निर्मल पुर्जा नेतृत्वको टोली सम्पर्कमा रहेको पाकिस्तानी पर्वतारोहण अधिकारीले दाबी गरेका छन्।
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय टोली पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएको थियो। तर, शुक्रवार बिहान नेपालब्रिटेन डट कमसँग ह्वाट्सएपमार्फत सम्पर्कमा आएका एक पाकिस्तानी अधिकारीले टोली सम्पर्कमै रहेको जानकारी दिएका हुन्।
उनका अनुसार टोलीको उद्धारका लागि स्कर्दुमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। अल्पाइन क्लब पाकिस्तानले पनि उक्त क्षेत्रमा सरकारी उद्धार टोली परिचालन गरिएको जनाएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो करिब १२ बजेतिर काराकोरम हिमश्रृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरो गएको थियो। त्यसयता टोलीसँग प्रत्यक्ष सम्पर्क हुन सकेको थिएन।
बिबिसीका अनुसार उक्त टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली पर्वतारोही सहभागी रहेका छन्।
टोलीका नेता निर्मल पुर्जा सन् २०१९ मा मात्र छ महिनाभन्दा केही बढी समयमै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेर विश्वभर चर्चित बनेका थिए।
मौसम अनुकूल भएमा उद्धार कार्यमा हेलिकप्टर प्रयोग गरिने योजना रहेको जनाइएको छ।
ब्रड पिक विश्वको १२औँ अग्लो तथा चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।
अल्पाइन क्लब पाकिस्तानले जारी गरेको वक्तव्यमा सरकारसँग निरन्तर समन्वय गर्दै तत्काल खोज तथा उद्धार अभियानलाई तीव्र बनाउने प्रयास भइरहेको उल्लेख गरिएको छ।
क्लबले हेलिकप्टर सहयोग सुनिश्चित गर्न र उपलब्ध सबै स्रोतहरू यथाशीघ्र परिचालन गर्न ‘सम्भव सबै प्रयास’ भइरहेको जनाएको छ।
“यस कठिन समयमा सबै पर्वतारोहीहरूको सुरक्षा र सफल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाउँछौँ,” वक्तव्यमा भनिएको छ।
निर्मल पुर्जाले सन् २००३ मा बेलायती सेनामा प्रवेश गरेका थिए र सन् २००९ मा रोयल मरीन बनेका थिए।
उनको पर्वतारोहण यात्रा सन् २०१२ मा एभरेस्ट बेस क्याम्प पुगेपछि सुरु भएको थियो। सुरुमा फर्कने योजना भए पनि उनले त्यहीँबाट उच्च हिमाल आरोहणलाई जीवनको लक्ष्य बनाएका थिए।