काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बजेटका विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसै दिन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका शाह बिहीबार स्वतः पदमुक्त हुने अवस्थामा छन् ।
तर, अल्पमतमा परेको २९औँ दिनमा शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका हुन् । कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार बैठकमा प्रदेश सरकारको आगामी विषयमा निर्णय हुनेछ । उनका अनुसार मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी गरेका छन् ।
प्रदेश प्रमुखलाई सोझै राजीनामा दिने वा प्रदेश सभामा सम्बोधन गरेर राजीनामा घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाउने भन्ने विषयमा भने शाहले दलका नेताहरूसँग परामर्श गर्नेछन् ।
‘एमालेले समर्थन फिर्ता लिएपछि हामी स्पष्ट रूपमा अल्पमतमा परेको कुरा सबैलाई थाहै छ । नेकपा र एमालेको सहकार्यले प्रदेश सभामा नयाँ सम्भावना नदेखिएकाले उहाँले राजीनामा दिनुहुन्छ,’ खड्काले भनिन्, ‘त्यसै विषयमा परामर्श गर्न मुख्यमन्त्रीज्यूले दलको बैठक बोलाउनुभएको हो ।’
मुख्यमन्त्री शाहले सरकार टिकाउन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को साथ खोजेका थिए । तर, केन्द्रमा नेकपा र एमालेबीच सत्ता सहकार्यको सहमति भएपछि शाहको प्रयास असफल भएको थियो ।
शाह एमालेको समर्थनमा २० साउन २०८१ मा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए । यसअघि २६ माघ २०७९ मा पहिलोपटक मुख्यमन्त्री बनेका शाहले राजनीतिक समीकरण फेरिएपछि २२ चैत २०८० मा राजीनामा दिएका थिए ।