१८ आश्विन २०८३, आईतवार
Follow Us

कांग्रेसमा वरिष्ठ उपसभापतिसहित पदाधिकारी थप्ने तयारी

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८३, आईतवार ०७:०७

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी पंक्तिबाट आएको सुझावका आधारमा विधान संशोधन गरी पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी गरिएको हो ।

पार्टी नेतृत्वमा आउन चाहने आकांक्षीहरूको व्यवस्थापन गर्न तथा पार्टीभित्रका विभिन्न धारलाई समेट्न विधान संशोधन गर्न लागिएको नेताहरूले बताएका छन् । हाल कांग्रेसको विधानमा २३१ सदस्यीय केन्द्रीय समिति र १७ जना पदाधिकारीको व्यवस्था छ । संशोधित विधानमा यी दुवै संख्या बढाउने तयारी गरिएको छ ।

विधान संशोधनमार्फत उपसभापतिको संख्या दुईबाट तीन पुर्‍याउने तयारी छ । त्यसमध्ये एक जना वरिष्ठ उपसभापति र एक जना महिला उपसभापति अनिवार्य हुने गरी व्यवस्था गर्न लागिएको छ । महामन्त्रीको संख्या भने दुई जना नै कायम रहनेछ । सहमहामन्त्रीको संख्या भने बढाउने तयारी गरिएको छ ।

कांग्रेसका एक शीर्ष नेताका अनुसार समावेशीतर्फका सहमहामन्त्रीसँगै खुलातर्फबाट पनि सहमहामन्त्री निर्वाचित हुने व्यवस्था राख्ने विषयमा छलफल भइरहेको छ ।

हाल जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टरबाट सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । अब यी क्लस्टरसँगै खुलातर्फबाट पनि सहमहामन्त्री निर्वाचित गर्ने प्रस्ताव गरिएको छ ।

केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारी छ । हाल खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेकामा संख्या थप्ने विषयमा छलफल भइरहेको छ ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले यसअघि २३१ सदस्यीय केन्द्रीय समितिमा ६१ जना सभापतिले मनोनीत गर्ने गरी मस्यौदा तयार गरेको थियो । अब वरिष्ठ उपसभापति, सहमहामन्त्री र केन्द्रीय सदस्य थपिएपछि कुल संख्या कति हुने भन्ने विषयमा समितिमा छलफल भइरहेको छ ।

३५ वर्षमुनिबाट २१ जना, पेशागत तथा बुद्धिजीवी क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट छ जना चयन हुने व्यवस्थामा भने संशोधन नहुने बताइएको छ । विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्ताव पार्टीमा पेश हुनेछ । केन्द्रीय समितिले अनुमोदन गरेपछि महाधिवेशनको हलबाट पारित हुनेछ ।

महामन्त्री पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समितिमा जीवन परियार, ईश्वरी न्यौपाने र राजीव ढुंगाना सदस्य छन् । प्रताप पौडेल सदस्य सचिव छन् ।

धेरै पढिएको