मध्यपूर्व एनआरएनए अभियानको आधारभूमि : पूर्वअध्यक्ष आरके शर्मा
९औँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन डिसेम्बर ११ र १२ मा कतारमा, सहकार्य र श्रमिकका मुद्दामा जोड
काठमाडौँ ,गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्वमा कार्यरत नेपालीले उठाउँदै आएका श्रमिक अधिकार, सामाजिक सुरक्षा र स्वदेशमा लगानीका मुद्दा नेपालको राष्ट्रिय नीतिमा स्थापित हुँदै गएको बताएका छन्। उनले मध्यपूर्वलाई वैदेशिक रोजगारीको गन्तव्यका रूपमा मात्रै नभई एनआरएनए अभियानका महत्त्वपूर्ण उपलब्धि, संघर्ष र नीतिगत परिवर्तनको आधारभूमिका रूपमा व्याख्या गरेका छन्।
कतारको दोहामा आगामी डिसेम्बर ११ र १२ मा आयोजना हुन लागेको नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले मध्यपूर्वका नेपालीले निरन्तर उठाउँदै आएका मुद्दाले नेपालको नीति निर्माणमा समेत प्रभाव पारेको बताए।
उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था र नेपालको सेयर बजारमा १० प्रतिशत आईपीओ कोटा सुनिश्चित गर्ने उपलब्धि मध्यपूर्वमा रहेका नेपालीको निरन्तर पैरवी र संघर्षसँग जोडिएका छन्। श्रमिकका आवाजलाई संस्थागत रूपमा उठाएर राज्यलाई नीतिगत निर्णयका लागि दबाब दिइएकै कारण यस्ता उपलब्धि सम्भव भएको उनको भनाइ थियो।
विदेशमा अलपत्र परेका नेपालीको उद्धार, ब्लड मनी सङ्कलन तथा मृत्युदण्डको सजाय पाएका नेपालीको जीवनरक्षाका लागि सञ्चालन गरिएका अभियानमा पनि मध्यपूर्वका नेपालीको योगदान उल्लेखनीय रहेको उनले स्मरण गरे। डोल्मा शेर्पा बचाउ अभियानदेखि विभिन्न मानवीय उद्धारका प्रयाससम्म मध्यपूर्वका नेपालीले देखाएको एकता र सहयोग एनआरएनए अभियानको महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए।
त्यस्तै, काठमाडौंको बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालय भवन निर्माणमा मध्यपूर्वका नेपालीको ठूलो आर्थिक योगदान रहेको उल्लेख गर्दै शर्माले कतारबाटै मध्यपूर्व क्षेत्रीय सम्मेलनको सुरुवात भएको स्मरण गरे। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयनको चरणमा पुग्नु र १० अर्ब रुपैयाँको लगानी कोषमार्फत गैरआवासीय नेपालीको पुँजीलाई नेपालको विकाससँग जोड्ने पहल अघि बढ्नु पनि महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।
विदेशमा श्रम गरेर आर्जन गरेको सानो-सानो पुँजीलाई एकीकृत गरी नेपालको जलविद्युत्, कृषि, पर्यटनलगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
यसैबीच, ‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीलाई तीव्र पारिएको छ। सम्मेलनको उद्देश्य, प्राथमिकता र तयारीबारे जानकारी दिन नोभेम्बर ३० मा कतारको राजधानी दोहामा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट प्रारम्भिक पत्रकार सम्मेलनसमेत सम्पन्न भएको छ।
मध्यपूर्व संयोजक एवं मूल आयोजक समितिका संयोजक रमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा मध्यपूर्व सदस्य सचिव बासुदेव सापकोटाले भर्चुअल माध्यमबाट सहजीकरण गरेका थिए भने एनसीसी कतारका सचिव शंकर राईले प्रत्यक्ष कार्यक्रम सञ्चालन गरेका थिए। एनसीसी कतारका अध्यक्षले स्वागत मन्तव्य राखेपछि संयोजक श्रेष्ठले सम्मेलनको औचित्य, उद्देश्य, तयारी र क्षेत्रीय प्राथमिकताबारे जानकारी गराएका थिए।
पत्रकार सम्मेलनमा विशेष रूपमा ‘सहयात्रा’ को अवधारणालाई जोड दिइएको थियो। एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी), राष्ट्रिय समन्वय परिषद् (एनसीसी), मध्यपूर्वमा क्रियाशील सामाजिक संघ-संस्था तथा अन्य सरोकारवाला निकायबीच आपसी समझदारी, सहकार्य र साझेदारी स्थापित गर्दै साझा उद्देश्यका साथ अघि बढ्नु नै सहयात्राको मूल मर्म रहेको आयोजकले स्पष्ट पारेका थिए।
यो अभियान कुनै एउटा संस्था वा नेतृत्वमा सीमित नभई मध्यपूर्वमा रहेका नेपाली श्रमिक, उद्यमी, सामाजिक अभियन्ता तथा विभिन्न संघ-संस्थालाई साझा उद्देश्यमा जोड्ने प्रयास भएको बताइएको छ।
सम्मेलनमा विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हित र अधिकारलाई केन्द्रमा राखेर सुरक्षित श्रम आप्रवासन, सामाजिक सुरक्षा कोषमा आबद्धता, न्यूनतम पारिश्रमिकको सुनिश्चितता, वैधानिक माध्यमबाट रेमिट्यान्स प्रवाह, सीप तथा प्रविधि हस्तान्तरण र मध्यपूर्वमा रहेका नेपालीको सामूहिक लगानीका सम्भावनाबारे छलफल गरिने जनाइएको छ।
मध्यपूर्व संयोजक श्रेष्ठले सम्मेलनलाई यस क्षेत्रमा कार्यरत लाखौँ नेपाली श्रमिकको आवाज मुखरित गर्ने साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्मेलन औपचारिक जमघटमा मात्र सीमित नभई नेपाली श्रमिकको सुरक्षित भविष्य र सामूहिक हितका लागि ठोस पहल गर्ने अवसर बन्नुपर्ने उनको भनाइ थियो। उपलब्ध साधन र स्रोतको उचित उपयोग गर्दै सबै पक्षको सहभागिता र सहयोग जुटाएर सम्मेलनलाई परिणाममुखी बनाउने उनले बताए।
कार्यक्रममा एनआरएनएका अन्तर्राष्ट्रिय अध्यक्ष डा. हेमराज शर्मा लगायत विभिन्न तहका पदाधिकारीले सम्बोधन गर्दै सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले मध्यपूर्व क्षेत्र एनआरएनएको ऐतिहासिक तथा अभिन्न हिस्सा रहेको उल्लेख गर्दै यस क्षेत्रका नेपाली श्रमिकले उठाउँदै आएका सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखेका थिए। सम्मेलनबाट प्राप्त सुझाव तथा निष्कर्ष कार्यान्वयनका लागि केन्द्रको सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
पत्रकार सम्मेलनमा कतारमा क्रियाशील विभिन्न वैचारिक, जातीय, क्षेत्रीय, सांस्कृतिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधि, आईसीसीका पदाधिकारी, सल्लाहकार, विभिन्न समिति तथा उपसमितिका प्रतिनिधि, सामाजिक अभियन्ता र सञ्चारकर्मीको प्रत्यक्ष तथा भर्चुअल सहभागिता रहेको थियो। सहभागीहरूले सम्मेलनको उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै आ-आफ्नो संस्थाका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
आयोजकका अनुसार पत्रकार सम्मेलनलाई मूल सम्मेलनको तयारी र सञ्चारमाध्यमसँगको समन्वयको प्रारम्भिक चरणका रूपमा लिइएको छ। विभिन्न क्षेत्र, संघ-संस्था, श्रमिक तथा सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर सम्मेलनमा प्रस्तुत गरिने एजेन्डा थप परिष्कृत बनाइनेछ।
यसपटकको सम्मेलनले मध्यपूर्वमा रहेका नेपालीको समस्या र सम्भावनालाई एउटै मञ्चमा जोड्दै श्रमिक अधिकार, सुरक्षित आप्रवासन, सामाजिक सुरक्षा र स्वदेशमा लगानीका विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ।

