फरक–फरक नागरिकताको मागले प्रक्रिया जटिल बन्यो : मनिष झा
लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य तथा विदेश विभाग प्रमुख मनिष झाले विदेशमा रहेका नेपालीहरूबाट नागरिकतासम्बन्धी फरक–फरक माग आउने गरेका कारण समस्या समाधानको प्रक्रिया जटिल बनेको बताएका छन्।
दक्षिण–पूर्वी लन्डनको प्लमस्टेडमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै झाले विदेशमा छरिएर रहेका नेपालीहरूका नागरिकतासम्बन्धी माग एकरूप नहुँदा तिनलाई सम्बोधन गर्न कठिनाइ भइरहेको बताएका हुन्।
उनका अनुसार, कसैले दोहोरो नागरिकताको माग गरिरहेका छन् भने कसैले वंशजको नागरिकता र कसैले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकारको अपेक्षा राखेका छन्। एउटै विषयमा फरक–फरक प्रकृतिका माग आउँदा समाधानको साझा बाटो पहिल्याउन चुनौती थपिएको उनको भनाइ थियो।
विदेशमा रहेका नेपालीहरूले लामो समयदेखि उठाउँदै आएका नागरिकता, दोहोरो कर प्रणालीलगायतका विषयमा सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै झाले यी विषयमा आफूहरूको स्पष्ट धारणा रहेको बताए। विशेषगरी नागरिकतासम्बन्धी विषयमा भइरहेको काम अन्तिम चरणतर्फ पुगेको जानकारी दिँदै उनले यसमा छिट्टै ठोस प्रगति हुने विश्वास व्यक्त गरे।
अन्तरक्रियामा सहभागीहरूले विभिन्न समसामयिक विषयमा प्रश्न राखेका थिए। झाले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नहरूको जवाफ दिएका थिए। यस क्रममा उनले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रकाशित हुने सबै सूचनालाई तत्काल विश्वास नगर्न आग्रह गरे।
केही दिनअघि एक पत्रिकामा प्रकाशित ‘हाकिमले गाडी चलाउँदा चालकको तलबसमेत जोडेर लिन मिल्ने’ भन्ने दाबीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले कुनै पनि सूचना वा दाबीको सत्यता भरपर्दो माध्यमबाट तथ्य जाँच गरेपछि मात्रै विश्वास गर्नुपर्नेमा जोड दिए।
विगतमा तथ्य जाँचसम्बन्धी संस्थासँग समेत आबद्ध रहेका झाको सूचना र दाबीको विश्वसनीयता पुष्टि गर्नुपर्ने विषयमा विशेष जोड रहेको सहभागीहरूले बताएका थिए।
कार्यक्रमको अर्को विशेषता यसको सरल र आत्मीय प्रस्तुति रहेको थियो। परम्परागत खादामाला तथा औपचारिकताको तामझामबिना सम्पन्न अन्तरक्रियापछि सहभागीहरूले टपरीमा पस्किएको नेपाली परिकारको स्वाद लिएका थिए।
प्लमस्टेडमा आयोजित उक्त अन्तरक्रियामा नागरिकता, विदेशमा रहेका नेपालीका अधिकार, कर प्रणाली तथा नेपालसँगको सम्बन्धलगायतका विषयमा सहभागीहरूले चासोपूर्वक जिज्ञासा राखेका थिए।

