एनआरएनएको अनुशासन समिति र विधान समिति गठन, रतन झाको संयोजकत्वमा अनुशासन समिति चयन
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइतबार सम्पन्न बैठकले अनुशासन समिति र विधान समिति गठन गरेको छ। बैठकले अनुशासन समितिको संयोजकमा रतन झालाई चयन गरेको छ भने विधान समितिसमेत गठन गरेको छ।
संघकी उपमहासचिव अनुजा प्रधानका अनुसार अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न सांगठनिक निर्णय गरेको हो।
बैठकले अनुशासन समितिको संयोजकमा रतन झालाई चयन गरेको छ। समितिको सदस्यमा सपिला राजभण्डारी, मन केसी, देवी बस्नेत र डा. देवमान डंगोल रहेका छन्।
त्यसैगरी, डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा विधान समिति गठन गरिएको छ। समितिको सल्लाहकारमा डा. बद्री केसी, महेश श्रेष्ठ, आके शर्मा, विनोद कुँवर, गौरीराज जोशी, बिआर लामा र ओम गुरुङ रहेका छन्।
विधान समितिको सदस्यमा दीपक गौतम, पारम पोखरेल, स्वतन्त्र प्रताप शाह, अनुजा प्रधान, राजेन्द्र अर्याल, मोहम्मद मुक्तादा मुसलमान, बेदराज बस्नेत, निदेश घिमिरे, विनोद कार्की, प्रकाश धमला, कृष्ण पोखरेल, डा. नवराज रोस्यारा, दीपक ओली र नारायण काफ्ले रहेका छन्।
बैठकमा आगामी ११औँ एनआरएनए एसिया प्यासिफिक सम्मेलन–२०२६ को तयारी, संघको सचिवालय सञ्चालन तथा राष्ट्रिय खेलकुदलगायतका विषयमा पनि छलफल भएको उपमहासचिव प्रधानले जानकारी दिइन्।
बैठकले आगामी सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने, सचिवालयको सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा संघका विभिन्न गतिविधिलाई योजनाबद्ध रूपमा अघि बढाउने विषयमा छलफल गरेको थियो।
त्यसैगरी, राष्ट्रिय खेलकुदलगायत संघका आगामी कार्यक्रम र गतिविधिलाई अगाडि बढाउने विषयमा समेत बैठक केन्द्रित रहेको प्रधानले बताइन्।
अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले संघको संस्थागत सुदृढीकरण, समितिहरूको गठन तथा आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिएको छ।

