मुख्य समाचार

बाघको मासु बिक्री गर्ने पक्राउ

बाघ मारेर त्यसको मासु र हड्डी काठमाडौंमा ल्याइ बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बारा कोहल्वी नगरपालिका ८ नयाँवस्तीका ६६ वर्षीय भरत महतो कुशवाहलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

कुशवाहले संरक्षित बन्यजन्तु बाघ मारेर मासु र हड्डी काठमाडौंमा बेच्न ल्याएको उनले बताए। प्रहरीले उनको साथबाट १ किलो हड्डी र आधा किलो मासु बरामद गरेको छ।

सिआइबीले उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय बारामा बुझाएको छ। प्रहरी अनुसन्धानमा उनले चार कोशेझाडीमा बाघ मारेको खुल्न आएको छ।

जिल्ला वन कार्यालयले उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ को कसुर अन्तर्गत मुद्दा चलाइने बताएको छ।

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु बाघ मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान सो कसुरमा उल्लेख छ।

 

About the author
nepalbritain news

nepalbritain news