मुख्य समाचार

कुवेत गएकी नेपाली महिलाको साउदीमा मृत्यु

काठमाडौँ । सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा ४ पाखापानीकी ३३ बर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ।

खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो। उनको शव राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा वादी अलदवासस्थित सरकारी अस्पतालमा राखिएको छ। त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो।

नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग मृतक चिन्ताकुमारीको साहु (स्पोन्सर) को नाम, मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र लिइसकिएको बताए।

अस्पतालले उच्च ज्वरो भएको अवस्थामा खत्रीलाई उपचारका लागि ल्याएको जनाएको छ। अस्पतालको आईसीयूमा उपचार थालेको आधा घण्टामा खत्रीको मृत्यु भएको शर्माले बताए। चिन्ताकुमारीलाई कुवेतबाट साउदी ल्याउने स्पोन्सर (साहु) भने कुवेत फर्किसकेका छन्।
– कान्तिपुर दैनिकबाट ।

About the author
nepalbritain news

nepalbritain news