ताजा खबर

म्याग्दी रुमबाट चरेससहित एक पक्राउ

म्याग्दी – जिल्लाको मालिका गाउँपालिका–२ रुममा चरेससहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका–२ रुमका ३९ वर्षीय नोकबहादुर रोकाको घर खानतलासी गर्दा घरको उत्तरतर्फ पालिको कुनामा लुकाइराखेको अवस्थामा ९२० ग्राम कालो रङको चरेश फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्लाष्टिकमा टेपले बेरी बजारमा लैजाने तयारीमा राखिएको चरेशसँगै रोकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बेनीमा बुझाइएको छ। लागूऔषध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रुम आसपासमा लुकिछिपी लागूऔषध तथा पदार्थको ओसारपोसार हुने गरेको प्रहरीले सूचना पाएपछि निगरानी बढाएको छ।
केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेशसहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो। गाउँका तीनजना महिलालाई प्रहरीले पक्राउ गरेपछि जिल्लाका ग्रामीण क्षेत्रबाट चरेश बिक्री हुने तथ्य सार्वजनिक भएको थियो।
म्याग्दीमा ठूलो परिणाममा चरेश र त्यसको ओसारपसारमा संलग्न महिला पक्राउ परेपछि प्रहरीले निगरानी बढाएको थियो। जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भएपनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेश बनाउने गरेको प्रहरीको अनुमान छ। रुम आसपासबाट म्याग्दीका साथै छिमेकी बागलुङतर्फसमेत पठाइने गरेको प्रहरीको दाबी छ।

About the author
nepalbritain news

nepalbritain news