काठमाडौँ । धार्मिक समुदायबीच हिंसा भड्काउने खालका गतिविधिमा संलग्नमाथि कडा कारवाही गर्ने निर्णय भएको छ ।
आइतबार सिंहदरवारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मधेस प्रदेशमा धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने खालका गतिविधि तत्काल नियन्त्रण गर्नका लागि आवश्यक कानुनी कारबाहीलाई अघि बढाउने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले त्यस्ता खालका गतिविधिमा संलग्न जिल्लाहरूमा धार्मिक सद्भाव र सहिष्णुता बढाउनका समन्वयात्मक रूपमा प्रवर्द्धनात्मक कार्यहरू सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई समेत आग्रह गरेको गृह मन्त्रालयले जनाएको छ ।
मधेस प्रदेशको वीरगञ्ज, जनकपुरलगायतका जिल्लाहरूमा टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरी धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै हिंसात्मक गतिविधि अघि बढेपछि सरकारले त्यस्ता खालका गतिविधि हुन नदिनका लागि कडाइका साथ निगरानी राख्न पनि स्थानीय प्रशासनलाई सचेत गराएको छ ।
त्यसैगरी सो विषयमा गृह मन्त्रालयले सोमबार राष्ट्रिय मानव अधिकार आयोगलगायतसँग पनि छलफल गर्न बैठक बोलाएको छ । बैठकमा जेन जेड आन्दोलनको क्रममा फरार रहेका कैदीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिन पनि गृहमन्त्री अर्यालले प्रहरी प्रशासनलाई सचेत गराएका थिए ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनको तयारीका बारेमा भइरहेका कामबारे गृहमन्त्री अर्याललाई ब्रिफिङ पनि गरेका थिए ।