लण्डन– डेनमार्कमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका १ दर्जन नेताहरु युरोपमा आएका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षण तथा कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी, केन्द्रिय सदस्य डा। मिनेन्द्र रिजाल डनेमार्क पुगेका छन्।
यस्तै महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गोबिन्द भटराई, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे, आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल, महिला नेतृ प्रतिमा गौतम, नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिहं महर पनि बिहीवार बिहान कोपेनहेगन पुगि सकेका छन् ।
प्रशिक्षणमा भाग लिन युरोपका १५ राष्ट्रिय समिति सहित भारत, मकाउ, हंङ्गकंङ, कोरिया, अमेरिका, जापान, क्यानाडा, कतार, कुवेत लगायत विश्वभर छरिएका नेपाली कांग्रेसको महासमिति तथा महाअधिवेशन प्रतिनिधिहरु डेनमार्कमा जम्मा हुन थालेका छन्। यस्तै नेपाली जनसम्पर्क समिति वेलायतको टोली समेत डेनमार्क हिडेकोछ । सभापति युवराज गुरुगंको नेतृत्वमा पूर्व महामन्त्री राजकुमार त्रिपाठी, नेता विज्ञान प्रसाईको टोली डेनमार्क प्रस्थान गरेको छ ।
सो प्रशिक्षणको लागि नेपाली कांग्रेसले प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललाई खटाएको छ।
कार्यक्रमलाई सफल पार्न २० वटा उपसमितिहरू गठन गरिएको छ। प्रशिक्षण कार्यक्रम कोपेनहेगनको भेस्टरपोर्टमा रहेको रिचमन्ड होटलको सभागृहमा हुने भएको छ। ३० भन्दा बढी मुलुकहरूबाट काँग्रेस कार्यकर्ताहरू कोपेनहेगन पुग्ने बताएको छ।





