काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले ठूलो व्यापार घाटा व्यहोरीरहेको नेपालले अब गुरुहरु निर्यात गर्न लागेको बताएका छन् ।
आफ्ना निकट सहयोगी स्वामी आननद अर्हतसंग मंगलबार बेलुका लन्डन आइपुगेका स्वामी अरुणले ओशो तपोबनबाट तपोबनमा प्रशिक्षित १५, २० जना प्रशिक्षकहरुले नेपाल, भारत, थाइल्याण्ड, ब्रिटेन, रुस लगायतका मुलुकहरुमा योग र ध्यान सिकाइ रहेको बताए।
“हामी तपोभूमिबाट आइरहेका छौं। नेपाल तपोभूमि हो, तपोबन त अझ तपस्थल नै भयो। नेपालमा सबै कुरामा हामी व्यापारघाटामा छौ, तर गुरुहरु भने निर्यात गर्न लागेका छौं,” उनले भने।
![]()
“हामीले गरेको तपस्या, ध्यान, साधना, त्यसको सुगन्ध फैलाउन यहां आएको छु। यो सुगन्ध जति बांडिन्छ त्यति नै बढ्छ,” स्वामी आनन्द अरुणले भने। “म यहां आउंदा अत्यन्त खुसी छु । मेरा आत्मीय मित्रहरुसंग वर्षमा एकचोटी भेटन पाउंदा अत्यन्त आनन्द आउंछ ।”
बुधबार बेलुका स्वामी अरुणले अल्डरशटस्थित शिव सामुदायिक तथा संस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा प्रवचन दिनेछन् ।
त्यस्तै उनले यही अगष्ट २३ देखि २६ तारिखसम्म लन्डन नजिकै द भेयर, ल्यातिमर एस्टेटमा तीन दिवसीय ध्यान शिविर पनि सन्चालन गर्ने छन्।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आएका छन्।
मंगलबार बेलुका उनलाई हिथ्रो विमानस्थलमा बेलायतस्थित ओशो सन्न्यासीहरुले स्वागत गरेका थिए।
“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले बोधिसत्व स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भने।
www.oshoanandbodhilondon.co.uk/2019-Meditation-retreat.html मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।