७ आश्विन २०८२, मंगलवार
Follow Us

महराको रक्तचाप बढेपछि सिसियूमा भर्ना

nepalbritain news
२ कार्तिक २०७६, शनिबार ०३:५६

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ।

उनलाई शुक्रबार जनरल वार्डवाट सिसियू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। ‘उहाँको रक्तचाप नघटेपछि सिसियू वार्डमा सारेर एन्जिओग्राम गरिएको हो,’ सिंहले सेतोपाटीसँग भने, ‘एन्जिओग्राम गरेर हेर्दा उहाँको मुटुमा केही ब्लकेज देखियो।’

महराको उपचारमा संलग्न नर्भिकका वरिष्ठ मुटु चिकित्सक डा. जेपी जयसवालका अनुसार उनको मुटुको देब्रेपट्टि २०-३० प्रतिशत ‘ब्लकेज’ देखिएको छ। एन्जिओग्राम परीक्षणबाट मुटुमा ब्लकेज छ कि छैन भन्ने थाहा हुन्छ। धेरै ब्लकेज छ भने एन्जिओप्लास्टी गरेर ब्लकेज खोलिन्छ।

‘उहाँको मुटुमा एन्जिओप्लास्टी गर्नुपर्ने अवस्था छैन, हामीले औषधि मात्र चलायौं,’ डा. जयसवालले भने।

असोज १२ गते राति महराले शाहीलाई बलात्कार प्रयास गरेको आरोपसँग उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती करणी उद्योगमा अनुसन्धान थालेको छ। शाहीलाई बलात्कार प्रयासमा पक्राउ गरेकै दिनदेखि महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो।
सेतोपाटी

धेरै पढिएको