आर्थिक

एनआरएनको लगानीको संयुक्त ऊर्जा लिमिटेडले ७.५ प्रतिशत नगद लाभांश दिने

गैरआवासीय नेपालीहरूको मुख्य लगानी रहेको संयुक्त ऊर्जा लिमिटेडले नगद लाभांश दिने भएको छ।

कम्पनीका अध्यक्ष एंव एनआरएनएका पूर्व अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यो कम्पनीले म्याग्दी जिल्लास्थित रघुगंगा गाउँपालिकामा २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको सेयर पुँजी एक अर्ब १८ करोड ४० लाख रूपैयाँ छ।

बिजुली बेचेर आर्थिक वर्ष २०८२/८३ मा ४९ करोड ७२ लाख ७१ हजार रूपैयाँभन्दा धेरै आम्दानी गरेको छ। उक्त वर्ष करपछिको खुद मुनाफा १३ करोड ९० लाख ६५ हजार रूपैयाँ आर्जन गरेको छ।

कम्पनीका अध्यक्ष केसीले कम्पनीले उक्त वर्ष १० करोड ९ लाख ५ हजार ४१७ युनिट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकोमा ७ करोड ९२ लाख २ हजार ४३० युनिट बिजुली मात्रै उत्पादन गर्न सकेको बताए।

उक्त वर्ष ७८ प्रतिशत हाराहारि मात्रै बिजुली उत्पादन गर्न सकेको उनको भनाइ छ।

विद्युत प्राधिकरणले उत्पादित सबै बिजुली नकिनिदिँदा पनि कम्पनी लक्ष्य अनुसार अघि बढ्न नसकेको उनको भनाइ छ।

‘यो वर्ष ४९ करोडको बिजुली मात्रै बेच्यौँ। प्राधिकरणले उत्पादन भएको सबै बिजुली किनिदिएको भए ७० करोडको बिजुली यहि वर्ष बिक्री गर्ने क्षमता थियो,’ उनले भने।

कम्पनीले आइपिओ निष्काशन गर्ने तयारी समेत गरेको छ।

कम्पनीको जारी पुँजी एक अर्ब ६० करोड को १० प्रतिशत ठूलो खोला जलविद्युत आयोजनाका प्रभावित तथा स्थानीय बासिन्दालाई र १६ प्रतिशत सर्वसाधारणका लागि आइपिओ जारी गर्ने उल्लेख गरिएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम