ताजा खबर

तीन वर्षभन्दा बढी समयपछि बेलायतमा ब्याजदर बढ्ने सम्भावना

लन्डन। बेलायतको केन्द्रीय बैंक (Bank of England) ले आगामी बिहीबार ब्याजदर बढाउने सम्भावना देखिएको छ। यस्तो निर्णय भएमा तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक बैंकको आधारभूत ब्याजदर वृद्धि हुनेछ।

अधिकांश अर्थशास्त्री तथा विश्लेषकहरूले हालको ३.७५ प्रतिशत ब्याजदर बढाएर ४ प्रतिशत पुर्‍याइने अनुमान गरेका छन्। ब्याजदर वृद्धि भएमा व्यक्ति तथा व्यवसायका लागि ऋण लिन महँगो हुनेछ भने बचतकर्ताले भने बढी प्रतिफल पाउन सक्नेछन्।

सन् २०२३–२४ मा ५.२५ प्रतिशतसम्म पुगेको बेलायतको आधारभूत ब्याजदर त्यसयता घट्दै आएको थियो। तर बैंकको मौद्रिक नीति समिति (MPC) ले पछिल्ला छवटा बैठकमा ब्याजदर यथावत् राखेको छ।

विश्लेषकहरूका अनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धिका कारण मुद्रास्फीति बढेकाले केन्द्रीय बैंक ब्याजदर बढाउने दबाबमा परेको हो।

बेलायतको केन्द्रीय बैंकले बिहीबार नेपाली समयअनुसार साँझ ५:४५ बजे (GMT १२:००) ब्याजदरसम्बन्धी निर्णय सार्वजनिक गर्नेछ।

यससँगै आगामी दिनमा ब्याजदर कुन दिशामा जानेछ भन्ने विषयमा पनि लगानीकर्ता तथा सर्वसाधारणको ध्यान केन्द्रित हुनेछ।

बेलायतस्थित ट्रेडिङ प्लेटफर्म सीएमसी मार्केट्सका प्रमुख क्रिस चेभरलका अनुसार अहिलेको मुख्य चासो ब्याजदर ४ प्रतिशत पुग्छ कि पुग्दैन भन्नेमा मात्र नभई त्यसपछि के हुन्छ भन्नेमा केन्द्रित छ।

उनले मुद्रास्फीति अझै उच्च रहेको अवस्थामा आर्थिक वृद्धिको सम्भावना कमजोर हुँदै गएको भन्दै केन्द्रीय बैंकले चुनौतीपूर्ण सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।

ब्याजदर बढेमा घर कर्जा (मोर्टगेज), व्यक्तिगत ऋण तथा व्यवसायिक कर्जाको लागत बढ्न सक्ने भएकाले बेलायतका सर्वसाधारणको दैनिक खर्चमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम