ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा नेपालका लागि ब्रिटेनकी नव नियुक्त राजदूत निकोलाको स्वागत
लन्डन । नेपालका लागि ब्रिटेनकी नव नियुक्त राजदूत निकोला पोलिटले दुवै देशबीच छिट्टै दोहोरो कर हटाउने सम्बन्धि सम्झौता गर्न गृहकार्य भै रहेको बताएकी छिन।
बुधबार बेलुका आफ्नो सम्मानमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै श्रीमती पोलिटले नेपालमा राजदूतको जिम्मेवारी निर्वाह गर्न जादै गर्दा आफुलाई निकै खुसि लागेको बताइन।
नेपाल ब्रिटेनको पुरानो मित्र हो र राजदूतको रुपमा मैले ब्रिटेनको मात्रै हैन, नेपालको पनि हित हेरेर काम गर्ने छु, उनले भनिन आफु हालै गोर्खा वेलफेयर ट्रस्टको निम्तोमा बुटवल, पोखरा, धरान लगायतका सहरहरु पुगेको बताउँदै श्रीमती पोलिटले सडक नभएका कतिपय गाउँहरुमा आफु हिडेरै पुगेको जनाइन।
![]()
नेपालमा स्थिर सरकार रहेकाले लगानीको लागि राम्रो वातावरण बन्दै गएको पनि उनले बताइन आउदो नोभेम्बर महिनादेखि उनले काठमाडौँमा आफ्नो जिम्मेवारी सम्हाल्न लागेकी छिन
सो अवसरमा बिएनसीसीका नवनिर्वाचित अध्यक्ष डा कपिल रिजालले नेपालको विकासमा बेलायतले पुराउदै आएको सहयोगको प्रशंसा गरेका थिए। उनले श्रीमती पोलिटको सफल कार्यकालका लागि शुभकामना पनि दिए । बिएनसीसीका उपाध्यक्ष बिराज भट्टले सबै सदस्य तथा पाहुनाहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा बिएनसीसीका सदस्यहरुले आफ्नो परिचय दिदै प्रश्नहरु पनि सोधेका थिए।

