काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीले संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि जुलियान्ड भ्यालेरीसँग भेट गरेकी छन् । उनले संयुक्त राष्ट्र संघको कार्यालयमा अधिकारीसँगको भेटमा भ्यालरीले नेपालमा संक्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय ढंगले अगाडि बढ्न नसकेको गुनासो गरे ।
आवासीय प्रतिनिधि भ्यालेरीले नेपालको संक्रमणकालीन न्यायका विषयमा चासो देखाएकी छन् । भ्यालेरीले संयुक्त राष्ट्र संघीय महासन्धीमा हस्ताक्षर गरेको नाताले पनि नेपालले महासन्धीमा भएका अधिकारहरुको पालना गर्नुपर्ने बताए ।
भ्यालरीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै गंगामाया अधिकारीले सरकारले आफुलाई न्याय नदिएकोले संयुक्त राष्ट्र संघसँग न्यायको अपिल गर्न बाध्य भएको बताइन् ।
अधिकारीले तत्कालीन सशस्त्र द्वन्द्वकालमा २०६१ सालमा हत्या गरिएका भनिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आएकी छन् । गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको आमरण अनशनकै क्रममा २०७१ असोजमा निधन भएको थियो ।