४ आश्विन २०८२, शनिबार
Follow Us

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०७६, मंगलवार १३:०९

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनााएका छन् ।

गत आइतबार एकै दिनमा सो भाइरसका कारण १०० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सोमबार यस भाइरसको सङ्क्रमणका कारण ९८ जनाको मृत्यु भएको एपी समाचार समितिले मङ्गलबार जनाएको छ ।

मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या १ हजार ८६८ पुग्नुको साथै ७२ हजार ४३६ व्यक्ति सङ्क्रमित भएका छन् ।

चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले सोमबार दिएको एक जानकारीअनुसार यस रोगको शुरुवाती घटनाहरूको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको शुरुबाट ८० प्रतिशतले घटेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले सोमबार भएको एक पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्वीर दिएको बताउनु भएको छ ।

जारी अनुसन्धानअनुसार यस रोगको सङ्क्रमणको दर घट्दो मात्रामा देखिन थालेका बताइएको छ । महानिर्देशक गेब्रियसले अहिले नै सङ्क्रमण दर घट्यो भनेर निष्कर्ष निकाल्नु एकदमै चाँडो हुने बताउनुभयो ।

यसअघि आइतबार चीनमा २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको थियो । सङ्क्रमितहरूको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको सो समाचारमा जनाइएको छ ।

गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको थियो ।

धेरै पढिएको