२० फाल्गुन २०८२, बुधबार
Follow Us

असार ६ गते युरोप क्षेत्रका नेपालीको उद्धार हुने, बेलायतको १०५८ पाउण्ड भाडा दर तोकियो

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७७, बिहीबार ०५:२२

काठमाडौं- कोराना संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिक उद्धारमा लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा बसेको बैठकले उद्धार गरेर ल्याइने नेपालीको लागि न्यूनतम भाडसमेत निर्धारण गरेको छ। मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठ्ने गरी भाडा तय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मको लागि उडान तालिकासमेत तय गरिएको छ। यसमा ६७ वटा उडान तय भएको छ। नेपाल एयरलाइन्सका २४, हिमालय एयरलाइन्स १९ र विदेशी २४ वटा उडान हुने गरी तालिका तय गरिएको उनको भनाइ छ।

भाडा भने सबैभन्दा कम्तीमा १ सय ६५ डलर बंगलादेशको लागि तोकिएको छ भने सबैभन्दा बढी लन्डनका लागि १ हजार ३ सय ४० र जर्मनीको फ्रयाङकफर्टका हकमा १ हजार २ सय ५५ डलर तय गरेको छ। भाडा नतोकिएको गन्तव्यबाट पनि विदेशी एयरलाइन्सले यात्रु ल्याउन पाउनेछन। तर, यात्रु ल्याउँदा ८५ प्रतिशत अकुपेन्सी हुनुपर्ने सर्त राखिएको छ।

नेपालले पहिलो लटमा झन्डै २४ हजार नेपाली उद्धार गर्ने तयारी गरेको छ। तर, केही दिनदेखि भाडा तथा उद्धार गर्न जाने एयरलाइन्सका विषयमा विवाद हुँदा नेपालीहरूको उद्धार सुरु हुने सकेको थिएन। मन्त्रालयले तय गरेको भाडा एयरलाइन्सले पाउने भाडा हो। कसले तिर्ने भन्ने कुरा मन्त्रालयअन्तर्गत नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णयसमेत गरेको छ। यात्रुको व्यवस्था भने नेपाल सरकारको कूटनीतिक नियोगले गर्नुपर्ने छ। कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।

नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ आएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।

नेपाली उद्धारमा ६७ उडान, कुन देशबाट कहिले हुन्छ उद्धार?
विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि ६७ वटा उडान हुने भएको छ। जसमा नेपाली एयरलाइन्सहरू नेपाल एयरलाइन्स र हिमालय एयरले ४३ उडान गर्नेछन्। त्यसमा पनि नेपाल वायुसेवा निगमले २४ र हिमालय एयरलाइन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन्। बाँकी २४ उडान विदेशी उडान कम्पनीले गर्नेछन्।

नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले ३२ गते बंगलादेशमा पहिलो उडान गरी नेपाली ल्याउनेछ। असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गर्ने छ।

असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडान र असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ।

यसैगरी, असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक उडान र असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ। असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ।

असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछ। असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाल ल्याइनेछ। असार ९ गते जापान, माल्दिभ्स, युएई र युगान्डाबाट दुई–दुई चार्टर उडान हुनेछ।

असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ। त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई एयरलाइन्स कम्पनीका कुल दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको हो। १० उडानबाट दुई एयरलाइन्सले दैनिक एक हजार आठ सयजनाको उद्धार गर्नेछन्।


विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा)

दमाम(साउदीअबर)- ५९०
रियाद- ६३०
जेद्हा -७७०
जोर्डन -८१५
साइप्रस- ८७५
नारिता -९३५
खार्तुन(सुडान) -९४०
फ्रयाङकफर्ट- १२५५
लन्डन – १३४०, १०५८ (पाउण्ड)
बांगलादेश -१६५
नयाँ दिल्ली -२०५
मुम्बइ -३१०
बैंगलोर -३३५
बैंकक- ३९०
कम्बोडिया -४००
दुबइ- ५००
आवुदाबी- ५००
सारजाह -५००
माल्दिभ्स -५०५
ओमन- ५१०
क्वाललम्पुर- ५२०
दोहा -५४५
बहराइन -५४५
हङकङ -५५०
कुवेत -५७०

धेरै पढिएको