१६ कार्तिक २०८२, आईतवार
Follow Us

नेकपा फुटको संघारमा, नेताहरुको दौडधूप तीब्र

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७७, आईतवार १३:१८

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेका छन् । पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता संकटमा परेको आइतबार बिहान शीर्ष नेताहरुलाई खुमलटारमा बोलाएर खुलासा गरे । खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादलसमेत उपस्थित थिए ।

शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि खुमलटारस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले ओलीका कारण पार्टी एकता संकटमा परेको ब्रिफिङ गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफूलाई अब सँगै जान नसकिने भन्दै अलग–अलग जानेगरी तयारी गरेको बताएको नेताहरुलाई प्रचण्डको ब्रिफिङ थियो। ‘प्रधानमन्त्रीले अब सँगै जान नसकिने भइयो, अलग–अलग जाऊँ, मैले निर्णय गरिसकेँ, तपाईंहरु पनि गर्नुस् भनेर भन्नुभयो’, प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने।

छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन आनाकानी गरेको, एकलौटी रुपमा गरेका निर्णयका बारेमा छलफल गर्न नचाहेको र पार्टी विभाजन गर्नको लागि सबै तयारी गरेको बारेमा आफूले सूचना पाएको बताएका थिए।

‘प्रधानमन्त्रीले आफूले गरेका सबै काम हामीले सहिदिनुपर्ने, उहाँको एकलौटीको साक्षी मात्रै बसिराख्नुपर्ने व्यवहार देखाउनुभयो, प्रचण्डको ब्रिफिङबारे अर्का एक नेताले भने, तयारी हेर्दा उहाँले सबै अस्त्र प्रयोग गसिक्नुभयो, यसरी त पार्टी कसरी चल्छ होला र ?’

आइतबार बिहानभर सचिवालयका बहुमत सदस्यसहित आफू निकटका नेताहरुसँग परामर्शमा रहेका प्रचण्डले प्रधानमन्त्री ओलीले विभाजनका लागि पार्टीभित्र गम्भीर संकट निकालेर बखेडा झिकेको आरोप लगाए। ‘पार्टी कमिटीको निर्णय पनि नमान्ने अनि विपक्षीलाई झैँ पेल्दै गएपछि कसरीसँग जान सकिन्छ ?’, सचिवालयका नेताहरुसँग प्रचण्डको गुनासो थियो।

एकताका लागि आफूले धेरै कुरा सहेर बसे पनि झन् पेल्दै गएपछि अहिलेको अबस्था आएको र यो अबस्था आउनुको मुख्य कारण नै अध्यक्ष ओली भएको प्रचण्डको भनाइ थियो। उनले प्रधानमन्त्रीले अलग–अलग नजान प्रस्ताव गरे पनि आफू पार्टी फुटिहाल्छ र फुटाउनु पर्छ भन्ने पक्षमा नरहेको बताए।

‘अहिले पार्टी फुटिहाल्छ भनेर मैले कल्पना गरेको छैन, तर उहाँ ओली जीको सबै तयारी हेर्दा उहाँ हामीसँग सँगै नजाने योजनामा हुनुहुन्छ, प्रचण्डले भने, ‘आगामी दिन कसरी जाने हामीले गम्भीर समीक्षा गर्नुपर्नेछ।’

यसैबीच प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको विकसित घटनाक्रमबारे आफ्ना नेताहरुसँग परामर्श गरेका छन्। बालुवाटारमा आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका एक दर्जन नेतासँग छलफल गरेका ओलीले त्यसपछिको दोस्रो चरणमा भने महसचिव विष्णु पौडेलसँग छलफल गरेको स्रोतले जनाएको छ।

धेरै पढिएको