१८ कार्तिक २०८२, मंगलवार
Follow Us

विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्ने सरकारको तयारी

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७८, मंगलवार १३:०७

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी थालेको छ । कार्यकारी निर्देशक हितेन्द्रेव शाक्यलाई राजीनामा गराइ घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।

ऊर्जामन्त्री भुसाललाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले निर्देशन दिएको उहाँको निजी सचिवालयले जनाएको छ । ऊर्जामन्त्री भुसालले शाक्यसँग राजीनामा मागिसक्नुभएको छ । घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिनु भएको थियो । घिसिङ बाहिरिएपछि तेस्रो वरीयताका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।

पछि मन्त्रिपरिषद्ले कोइरालाको ठाउँमा प्राधिकरणअन्तर्गतकै एनईए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका दोस्रो वरीयताका उपकार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। घिसिङलाई नै ल्याउने योजनामा रहेकी भुसाललाई प्रधानमन्त्री देउवाको निर्देशन आएपछि सहज भएको छ । मन्त्री भुसालले केही दिनअघि पहिले माओवादी मन्त्रीले गरेका कामलाई निरन्तरता दिने बताउनुभएको थियो ।

घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानमन्त्री देउवासँग छलफल गर्नुभएको थियो । अघिल्लो कार्यकालको कार्यम्पादनको आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक-पटक आग्रह गर्नुभएको थियो । तर, ओलीले विभिन्न वहाना बनाएर घिसिङलाई विदा गर्नुभएको थियो ।

धेरै पढिएको