लन्डन । तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त आयोजनामा गरेको १२ औं संस्करणको नेपाली मेलाको भव्य रुपमा सम्पन्न भएको छ ।
आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा मेलाको
उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवद्र्धनमा योगदान र्पुयाइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके र अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए ।
उनले नेपाली मेला आगामी दिनम भव्य बनाउनका लागि रचनात्मक सुझाव दिन नेपालीहरुलाई अपील गरे । आगामी कार्यक्रमअघि नै सामूहिक छलफल गरेर सल्लाह, सुझाव लिने योजना राजदूत रेग्मीले सुनाए ।
औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हित काजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए ।
तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
दुई हजार भन्दा बढी दर्शकको सहभागिता रहेको मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो ।
मेलामा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गरेका थिए ।
तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।
मेलामा पुस्तक विमोचन
कार्यक्रममा बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक विमोचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी, तमुधिंका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङले पुस्तक लोकार्पण गरेका हुन् ।
फोटो: चिरन शर्मा