२५ बैशाख २०८१, मंगलवार
Follow Us

डेढ महिनापछि प्रतिपक्षी नेतासँग सम्वादमा देउवा

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७८, बुधबार ०६:३१

प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् । हिजो अपरान्ह नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेका कार्कीले साँझ अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

‘प्रतिपक्षसँग सम्बन्धका बारेमा कुराकानी गर्न कानुन मन्त्रीज्यू मेरो कार्यकक्षमा आउनु भएको थियो । साँझ पार्टी अध्यक्षज्यूसँग कुराकानी गर्नु भयो,’ नेम्वाङले न्युज कारखानासँग भने, ‘सरकार र प्रतिपक्ष दलबीचका सबन्ध कसरी मजबुत बनाउने भन्ने बिषयमा छलफल भयो ।’

एमालेले रचानात्मक प्रतिपक्षको भूमिका निभाउने तर सरकारले प्रतिपक्षसँग सबन्ध सुधारमा त्यति चासो नदिएको गुनासो नेम्वाङले गरेका थिए । प्रतिपक्ष पनि राज्यको स्थायी सत्ता भएकाले महत्वपूर्ण बिषयमा छलफल नगरी निर्णयमा नपुग्न आफूहरुले भनेको नेम्वाङको भनाइ छ ।

सरकार गठन भएको झन्डै डेढ महिनापछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलसँग सबन्ध विस्तारका लागि कानुन मन्त्रीलाई एमाले संसदीय दलको कार्यालय र बालकोटस्थित ओली निवासमा पठाएका हुन् ।