१२ जेष्ठ २०८१, शनिबार
Follow Us

संसद विघटन सही हो भन्ने पार्टीको निष्कर्ष: बादल

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७८, बिहीबार १०:२२

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका छन् । यद्यपि विघटन बेठीक थियो भन्ने मत पनि पार्टीमा रहेको उनले बताए । भोलिदेखि शुरु हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो ।’

प्रतिनिधिलाई खानादेखि गाडीसम्म व्यवस्था
नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिलाई खाना, खाजा, आवासदेखि गाडीसम्म व्यवस्था गरिएको छ । बिहीबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा ‘बादल’द्वारा जारी विज्ञप्तिमा महाधिवेशनका लागि ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ ।

प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सवारी चालकलाई महाधिवेशन हलमै खानाको व्यवस्था गरिएको छ । प्रतिनिधिलाई आवासको व्यवस्थापन गरिएको छ । निजी सवारी नहुने प्रतिनिधिलाई झण्डासहित बसहरुको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनलाई व्यवस्थित बनाउन युवा संघ, अनेरास्ववियूलगायत २ सयको संख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ । विधि र नीतिसँग सम्बन्धित रहेर महाधिवेशन केन्द्रीत रहेको संयोजक थापाले बताए । उनका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुतदेखि पार्टीको आगामी आन्दोलन कार्यभार र नेतृत्व निर्माणको विषय, विचारधाराको बहस हुने छ ।