बाढीपीडितलाई साउदीबाट राहत
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेको पहलमा भोटेकोशी-त्रिशुली बाढीबाट प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । मरकाजी जमियत अहले हदीस नेपालले साउदी अरेबिया राजपरिवारको सहकार्यमा आज धादिङका करिब पाँच सय बाढीपीडित परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको हो ।
गजुरीको बेल्खुबजार, गलौँदी बजार, चाम्बास, बिहानीपम्पलगायत स्थानमा पुगेर चामल, दाल, चना, तेल, पास्ता, नुन, चाउचाउ लगायतका खाद्यन्न वितरण गरिएको मरकाजी जमियत अहले हदीस नेपालका महासचिव अजिजुर रहमानले जानकारी दिए । उनका अनुसार यसअघि पनि पाँच सय परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो ।
आगामी दिनमा सिद्घलेक र बेनिघाट रोराङका पीडित परिवारलाई पनि राहत वितरण गर्ने योजना रहेको उनले बताए । गल्छी गाउँपालिकामा भएको राहत वितरणमा साउदी अरेबियाका राजपरिवारका प्रतिनिधि तथा नेपालस्थित साउदी अरेबियाली दूतावासका प्रतिनिधिसमेत सहभागी भएका थिए ।

