१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतबाट फर्केका ढुंगेलले एक अर्ब लगानीमा खोले पोल्ट्री फार्म

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७८, बिहीबार १०:५४


‘नेपालकै पहिलो अटोमेटेड फार्म’

लण्डन । चितवनको भरतपुर महानगरपालिकाको गाँजीपुरमा रहेको अविनाश पोल्ट्री फार्म झण्डै एक अर्ब रुपैयाँमा बिक्री भएको छ। अविनाश समूहको लगानीमा ८ वर्ष अघि स्थापना भएको यो फार्म गैरआवासीय नेपाली अरुण ढुंगेलको समूहले ९२ करोड २५ लाख रुपैयाँमा किनेको हो। ढुंगेल स्न २०१४ मा बेलायतको रिडगंबाट नेपाल फर्किएका हुन् ।

ढुंगेल हाल क्यानडाका गैरआवासीय नेपाली हुन्। यो पोल्ट्री फार्म अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी र स्थानीय तारा काफ्लेको लगानी थियो। यो कम्पनीमा विष्टको नाममा ८० प्रतिशत र भण्डारी तथा काफ्लेको नाममा १० र १० प्रतिशत सेयर थियो।

विष्टले फार्म बिक्री भइसकेको बताउँदै नयाँ व्यवस्थापनलाई हस्तान्तरणसमेत गरिसकेको जानकारी दिए। यो नेपालकै पहिलो अटोमेटेड फार्म हो। कुखुराले अण्डा पारेपछि त्यसलाई कलेक्सन गर्ने, तौलअनुसार ग्रेड छुट्याउने र प्याकेजिङसम्म सबै मेसिनबाट हुन्छ,’ उनले भने, ‘अत्याधुनिक फार्म भए पनि हामीले यसमा केन्द्रीत भएर काम गर्न नसकेर बेच्नुपरेको हो।

उनका अनुसार नयाँ समूहले विस्तार गरेर चलाउन सके अझै राम्रो मुनाफा गर्न सक्छ। विष्टको नवलपरासीमा झण्डै पाँच अर्ब लगानीमा अविनाश ह्याचरी छ। भण्डारी पनि २०५० सालदेखि नै पोल्ट्री व्यवसायमा थिए । उनले त्यही बेलामा संजिवनी पोल्ट्री फर्म संचालन गरेका थिए ।

यो फार्ममा अहिले अण्डा दिने दुई लाख लेयर्स कुखुरा छ। साढे नौ बिघा जग्गामा यो फार्म फैलिएको छ। फार्म किनेका गैरआवासीय नेपाली ढुंगेलले अत्याधुनिक फार्ममा सम्भावना देखेर ठूलो लगानी गरेको बताए। फार्ममा लगाइएको अटोमेटिक मेसिनसमेत युरोपेली स्ट्यान्डर्डको छ ।

‘सबै अटोमेटेड भएको अत्याधुनिक फार्म विस्तार गर्न सक्ने सम्भावना देखेर हामीले लगानी गरेका हौं। यो बाहेक फीड लगायतको अरु भ्यालु चेन समेत जोड्नेछौं,’ उनले भने, ‘कोभिडपछि कुखुराको मासु र अण्डाको माग धेरै छ। विस्तारै नेपालीको क्रयशक्ति समेत बढ्दै गएकाले राम्रो सम्भावना देखेर यो क्षेत्रमा लगानी गरेका हौं ।’

ढुंगेलका अनुसार अविनाशको अण्डा माग अनुसार पुर्‍याउनै सकिएको छैन । ‘ग्रेडिङ गरेको सफा अण्डा भएकाले यसको माग उच्च रहेछ । तर मागअनुसार अहिले पनि पुर्‍याउन सकिएको छैन । हामी आएपछि क्षमता विस्तार गरेर यसलाई अगाडि बढाउनेछौं, उनले भने। उनको समूहले क्षमता विस्तार र फार्मका लागि मेगा बैंकबाट ऋण लिएका छन्। क्षमता विस्तारसँगै यो प्रोजेक्ट १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

उनको समूहमा विकासचन्द्र भट्टराई पनि साझेदार छन्। भट्टराई तीन दशकदेखि कुखुरापालन व्यवसायमा संलग्न छन्। ‘हामीले कृषि क्षेत्रमा चार अर्ब लगानी गर्ने गरी आएका हौं। त्यसको सुरुवात अविनाशबाट गरेका हौं,’ ढुंगेलले भने, ‘त्यसमा पनि धेरै मूल्य अभिवृद्धि हुने क्षेत्र भनेको कृषि नै हो। यो क्षेत्रमा आधुनिकीकरण लगायतका काम समेत गर्न सकिन्छ।’