२५ बैशाख २०८१, मंगलवार
Follow Us

महिलालाई सीमा कटाएको ८ हजार रुपैयाँ

नेपालब्रिटेन डट कम्
१९ माघ २०७३, बुधबार १३:३५

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न अपराधको अभियोगमा पक्राउ परेका व्यक्ति र सामग्री आज सार्वजनिक गरेको छ । परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा दुई महिलालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा पर्सास्थित वीरगन्ज उपमहानगरपालिका, छपकैयाका ३३ वर्षीय बलराम महतोलाई यही माघ १४ गते वीरगन्जबाट पक्राउ गरिएको जानकारी दिइएको छ । परिसरकी प्रमुख एवम् प्रहरी उपरीक्षक किरण राणाले नेपाली महिलालाई सीमा पार गराएर भारत पु-याएबापत रु दुईदेखि आठ हजारसम्म भारतीय रकम लिने गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।
यसैबीच भक्तपुर नगरपालिका–४ कमलविनायक मूलढोका बस्ने सलिम मगरलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । मगरले गत साउन ९ गते काठमाडौँ गुर्जुधारा बस्ने २७ वर्षीय नवराज सुनारलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी निजका साथमा रहेको रु दुई लाख ५० हजार, मोबाइल र अन्य सामग्री लुटपाट गरेको खुल्न आएको प्रहरीको भनाइ छ । परिसरका प्रवक्ता दिलबहादुर सुवेदीले भक्तपुर अदालतबाट कैद र जरिवाना तोकी फरार रहेका अन्य सात जनालाई पक्राउ गरी अदालतलाई बुझाइएको जानकारी पनि दिनुभयो ।