२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती टेनिस स्टारलाई पछ्याउने अमृत मगर दोषी ठहर

नेपालब्रिटेन डट कम्
१६ माघ २०७८, आईतवार ०९:५८

लन्डन । बेलायती टेनिस स्टार एम्मा रेडुकानुलाई पछ्याउने ३५ वर्षीय अमृत मगर दोषी ठहरिएका छन्। इडगवेरमा बस्ने मगरलाई ब्रोमलीस्थित एक अदालतले शुक्रबार दोषी देखाएको हो। उनलाई सजाय भने अर्को मितिमा तय गरिनेछ। दक्षिण लन्डनमा १९ वर्षीय टेनिस खेलाडी रेडुकानुलाई पछ्याइरहेका मगरलाई उनको घरको सिसिक्यामेराले देखाएको थियो। उनी त्यहाँ आफ्ना बुबाआमाका साथ बस्छिन्। रेडुकानुले आफूलाई अहिले एक्लै घरबाहिर जान डर लागिरहेको डेली मेललाई बताएकी छिन्।

‘मलाई अहिले डर लागिरहेको छ। बाहिर जान डराइरहेकी छु। खासगरी एक्लै बहिर हिँड्न सकिरहेकी छैन,’ रेडुकानुले प्रहरीलाई दिएको एक बयानमा भनेकी छिन्। मगर विवाहित युवा हुन्। यो घटनाले आफ्नो स्वतन्त्रता खोसिएको उनले बताएकी छिन्। यस्तो घटना फेरि दोहोरिन सक्नेप्रति उनले चिन्ता व्यक्त गरेकी छिन्। सबैभन्दा सुरक्षित महसुस गर्नुपर्ने आफ्नै घरमा सुरक्षित महसुस गर्न नसकेको उनले बताएकी छिन्। मगरले रेडुकानुको बुबाको जुत्तासमेत चोरी गरेको जनाइएको छ।

मगर अघिल्लो वर्षको डिसेम्बरमा पटक2पटक रेडुकानुको घर पुगेको पाइएको छ। मगरले पहिले डेलिभरी ड्राइभरको काम गर्दा त्यहाँ पुगेको जनाइएको छ। उनले एकपटक रेडुकानुको घरमा एक नोट पनि छोडेका थिए। त्यस नोटमा लेखिएको थियो, ‘तिमी प्रेम गर्न लायक छौँ ।’ उनी रेडुकानुको घरसम्म २३ माइल हिँडेर भेट्ने आशाका साथ आएकोसमेत कार्डमा लेखेका थिए। शुक्रबार अदातलमा मगरले आफ्नो कार्यले रेडुकानुलाई विचलित बनाएको थाहा पाउँदा लज्जित भएको बताएका थिए।