२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गोरु काटेर मासु बिक्री गर्ने तीनजना रिहा

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७८, बिहीबार ०७:४९

खोटाङ । खोटाङमा गोरु काटेर मासु बिक्री गर्नेक्रममा पक्राउ परेका तीनजना हिरासतमुक्त भएका छन् । गाेरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ बुधबार साँझ हिरासतमुक्त भएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङलगायतको पहलमा उनीहरू रिहा भएका हुन् । प्रहरी हिरासतमुक्त भए पनि उनीहरूमाथिको अनुसन्धान र कारबाही प्रक्रिया जारी रहने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासु बिक्री गरिरहेको सूचनाका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि जनजाति सम्वद्ध संगठन र जनजाति नेताहरूले विरोध जनाएका थिए ।

राई, तामाङ, शेर्पालगायतका जनजाति समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ । तर गोरु काट्नेलाई सजाय हुने कानुनी व्यवस्था छ । यही विषयले गर्दा जनजातिस समुदाय र स्थानीय प्रशासन/प्रहरीबीचमा बेलाबेलामा द्वन्द्व सिर्जना हुने गरेको छ ।