२३ बैशाख २०८१, आईतवार
Follow Us

पुटिनले गरे दोनबासमा ‘सैन्य कारबाही’ घोषण

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार ०४:२९

मस्को । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका छन् । एउटा टेलिभिजन सम्बोधनमा पुटिनले यस्तो घोषणा गरेका हुन् । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए । ‘वास्तवमै युक्रेनमा सैन्य तयारी भइरहेको छ भने, म मेरो हृदयदेखि राष्ट्रपति पुटिनलाई भन्न चाहन्छु आफ्ना सेनाहरूलाई रोक्नुहोस्, शान्तिलाई मौका दिनुहोस् ।’ गुटरेसले भनेका थिए ।

युक्रेनमा आपतकाल घोषणा
युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।

एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।

रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरुले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।