२९ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए पदाधिकारीद्धारा शंखमुल पार्क सरसफाई

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७९, आईतवार ०२:५२

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरुको सकृयतामा शंखमुल पार्क सरसफाई सम्पन्न भएको छ ।

संघका अध्यक्षद्धय डा. बद्री केसी र कुल आचार्यको सकृयतामा आइतवार ललितपुरस्थित वार्ड नं. ९ मा अवस्थित शंखमुल पार्कको सरसफाई गरिएको हो ।

सरसफाई अभियानको अन्त्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष डा. बद्री केसीले महिनाको एक दिन स्वंयसेवा गर्ने परम्पराको सुरुआत गर्न आग्रह गरे । उनले बागमती सफाई अभियान नेपालको लागि ऐतिहासिक कार्य भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिलामणी पौडेलले नेपालीहरुमा सामाजिक काम गर्ने संस्कार रहेको बताउँदै पार्क बनाउन सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद दिए । उनले शंखमुल पार्क एनआरएनएले निमार्ण गरेको उत्कृष्ट परियोजना भएको चर्चा गरे ।

कार्यक्रममा संघका अर्का अध्यक्ष कुल आचार्यले काठमाण्डौंको सरसफाईमा गैरआवासीय नेपाली संघले सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले पार्कको व्यवस्थापन स्थानिय महानगरपालिकालाई दिए पछि राम्रो संरक्षण भएको बताए । उनले एनआरएनएले गरेको काम उदारणिय हुनु पर्नेमा जोड दिए ।

ललितपुर महानगरपालीका ९ वार्ड अध्यक्ष राजु महर्जनले एनआरएनए पार्कलाई व्यवस्थित बनाउन सहयोग गरेको भन्दै विदेशमा बस्ने नेपालीहरुलाई धन्यवाद दिए । उनले हरेक वर्ष बागमतीको नदी कटौतीले गर्दा पार्क व्यवस्थापनमा चुनौती रहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्षहरु आरके शर्मा, नरेन्द्र भाट, उपहासचिव विनय अधिकारी लगायत पदाधिकारीहरुको उपस्थिती थियो । शंखमुल पार्क गैरआवासीय नेपाली संघको करिब दुई करोडको लागतमा निमार्ण भएको हो ।