१९ जेष्ठ २०८१, शनिबार
Follow Us

संसदीय दलको नेताका लागि सहमति खोज्न शेखर-गगन समूहको भेला

नेपालब्रिटेन संवाददाता
४ पुष २०७९, सोमबार १३:०८

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा शेखर पक्षीय नेताहरू जुटेका हुन् ।

नेता बलबहादुर केसीका अनुसार संसदीय दलमा कोइराला र थापा मध्ये एक जनाका नाममा सहमति जुटाउन आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म सहमति भने भइनसकेको उनको भनाई छ । छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत सहभागी छन् ।

काँग्रेसले बुधबार बिहान संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएपछि इतर पक्ष कोइराला र थापा मध्ये एक जनाको नाममा सहमति गराउने प्रयासमा । भोलि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएपछि इतर पक्ष दबाबमा परेको छ । इतर पक्षका नेताहरू भोलि बिहानसम्म कोइराला र थापालाई मिल्ने विश्वास गर्छन् ।

काँग्रेसको संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा दलको नेताको उम्मेदवार बन्ने निश्चित जस्तै छ । देउवाविरुद्ध कोइराला कि थापालाई अगाडि बढाउने भन्नेमा इतर पक्षमा सहमतिको खोजी भइरहेको छ ।