२१ जेष्ठ २०८१, सोमबार
Follow Us

शोभराजले किन अस्वीकार गरे निहिता र उनकी आमासँग भेट्न

नेपालब्रिटेन संवाददाता
८ पुष २०७९, शुक्रबार १२:०१

काठमाडौँ । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजले निहिता विश्वास र उनकी आमा शकुन्तला थापालाई भेट्न अस्वीकार गरेका छन् । निहिता र शकुन्तला शोभराजलाई भेट्न अध्यागमन विभाग पुगे पनि उनले भेट्न अस्वीकार गरेका हुन् ।

एक प्रहरी उच्च अधिकारीका अनुसार शोभराजले कानुन व्यवसायीलाई भेट्न भित्र बोलाए पनि निहिता र उनकी आमासँग भने भेट्न अस्वीकार गरेका हुन् । यता, निहिता र उनकी आमा भने प्रहरीले भेट्न नदिएको भन्दै आक्रोशित भएका छन् ।

यसैबीच, अध्यागमनले आफ्नो तर्फबाट गर्ने सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेको बताएको छ । नेपालस्थित फ्रान्सेली दूतावासले गर्ने काम मात्रै बाँकी रहेको अध्यागमन स्रोतले बताएको छ । शोभराजले आफू आजै स्वदेश फर्किन चाहेको बताएका छन् । उनले कागजी प्रक्रिया पूरा गरिदिन माग गर्दै आजै फ्रान्स फर्किन चाहेको बताएका छन् । शोभराजलाई केन्द्रीय कारागार सुन्धाराले आज रिहा गरेको थियो ।