१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यती एसोसियसनको नयां वर्ष कार्यक्रममा मर्यादाक्रम विवादमा, नेपाली दूतावासकै अपमान

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०८०, मंगलवार ०९:४४

लन्डन । तामझाम सहित मनाइएको यती नेपाली एसोसिएसन यूकेको नयां वर्ष कार्यक्रममा मर्यादाक्रमको विषयलाई लिएर विवादमा तानिएको छ । शुरुमा कार्यक्रमको प्रमुखअतिति बेलायतका लागि नेपाली दूतावासकी उपप्रमुख रोशन खनाललाई आमन्त्रण गरिए पनि पछि आयोजकले रातारात प्रमुखअतिथि फेरे पछि कार्यक्रम विवादमा तानिएको हो । कार्यक्रममा उपस्थित एक सहभागीका अनुसार आयोजकले वरिष्ठ चिकित्सक तथा समाजसेवी डा राघवप्रसाद धिताल (ओबीइ) लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरे पछि कार्यक्रममा पुगेकी उपप्रमुख रोशन खनाल अप्ठ्यारोपमा परेकी थिइन् ।

ती सहभागीले भने देशकै प्रतिनिधिको उपस्थित भएको कार्यक्रममा अन्य व्यक्तिलाई प्रमुखअतिथि बनाउने निर्णय गलत भएको बताए । उनले भने यो विषयमा दूतावास बोल्ने कुरा होइन् आयोजकले बुझ्ने कुरा हो । ६० को दशकमा स्थापना भएको सो संस्थाको प्रमुख संरक्षकको रुपमा नेपाली दूतावासलाई मानिदै आएको छ ।

संस्थाकी अध्यक्ष पिपला पाण्डे देवानको सभापतित्वमा आयोजित कार्यक्रममा कार्यक्रममा करिब ५ सय जना सहभागी रहेको दावी गरिएको छ ।
विशेष अतिथी खनालले नेपालको प्रतिनिधित्व हुने गरि कार्यक्रम गरेकामा आयोजकलाई धन्यवाद दिएकी थिइन् ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल विशेष अतिथीका रुपमा उपस्थित थिइन् । नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड ‘परफर्मेन्स’ हेर्न बेलायतका विभिन्न शहरबाट नेपाली ओइरिएका थिए ।

कार्यक्रमको शुरुवात लाखे नाचबाट गरिएको थियो जसमा प्रमुख अतिथीसहित अन्य अतिथी र कार्यसमिति सदस्यहरुलाई लाखे नाचका साथ कलश बोकेका कलाकारहरुले स्वागत गर्दै कार्यक्रम हल भित्र लगेका थिए ।

प्रमुख अतिथी डा। धिताल र विशेष अतिथी नियोग उपप्रमुख खनालले रिबन काटेर कार्यक्रम स्थलको ढोका खोलेका थिए भने उनीहरुले पानसमा बत्ति बालेर कार्यक्रम शुरुवात गरे ।

पहिलो चरणको औपचारिक कार्यक्रम यती महासचिव टंक भट्टराईले सञ्चालन गरेका थिए । महासचिव भट्टराईले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रिफ अनि स्वागत गर्दै कार्यक्रम अगाडि बढाएका थिए । भाषण कम राख्ने उद्देश्यसहित कार्यक्रम मुख्यतया मनोरन्जनात्मक बनाउन सक्दो प्रयास गरिएको महासचिव भट्टराईले बताए ।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी डा धितालले धेरै समय पछि यतीको कार्यक्रममा उल्लेखनीय सहभागिता देख्दा भावुक भएको जनाउंदै नयां कार्यसमितिलाई धन्यवाद र बधाई दिए ।

ग्रीनवीच बरो काउन्सिलर जीत रानाभाटले यती संस्थाले सम्पूर्ण नेपाली समुदायले समेटेर केही रचनात्मक काम गर्न खोजेकामा प्रशंसा गर्दै शुभकामना दिएका थिए ।

अध्यक्ष पिपला पाण्डे देवानले औपचारिक कार्यक्रम समापन गर्दै सहभागी सबै र रातदिन नभनि खटिएर कार्यक्रम पूर्ण सफल बनाउन क्रियाशील समस्त कार्यसमिति सदस्यहरुलाई धन्यवाद दिइन् । अध्यक्ष देवानले यतीले भविष्यमा धेरै कार्यक्रम ल्याउने पनि जनाइन् ।

औपचारिक कार्यक्रम समापनपछि सांस्कृतिक सचिव पूर्णबहादुर थापा ९दीपक मैथाने० र सहसचिव आस्था जोशी ले सांस्कृतिक कार्यक्रम चलाएका थिए ।

नेपालबाट आएका राष्ट्रिय गायक गायिकाहरु कृष्ण काफ्ले, साहिमा श्रेष्ठ, रमिला न्यौपाने, पृथ्वी गुरुङ र बविता बानिया (जेरी) तथा लन्डन र बाहिर विभिन्न ठाउँबाट आएका १३ जना कलाकारले बेजोड प्रस्तुति दिए । स्थानीय कलाकारहरुले लाखे नाचदेखि कथ्थक, शेर्पा, घाटु डान्स प्रस्तुत गर्दा कार्यक्रम बडो रोचक बन्यो ।सांस्कृतिक कार्यक्रममा सहभागी सबै कलाकारहरुलाई आयोजकले प्रमाणपत्र साथै नगद पुरष्कार प्रदान गरे ।

उक्त कार्यक्रमको प्लेटिनम स्पोन्सरमा माया सपोर्टेड लिभिंग थियो भने सहप्रायोजकहरुमा एचटिआर केयर एण्ड रिक्रुटमेन्ट लि।, जेएएपी फाइनान्सियल सोलुसन्स्, एस रिक्रुटमेन्ट एवं अन्य प्रायोजकहरुमा देउराली ट्राभल, केटिएम ट्राभल एण्ड टुर, खुकुरी बियर यूके लि।, जिएनएस एसोसिएट्स, अब्सोलुट्ली देशी थिए । आयोजकले सबै प्रायोजकहरुलाई टोकन अफ लभ र प्रशंसा पत्र प्रदान गरेको थियो ।