७ बैशाख २०८१, शुक्रबार
Follow Us

गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको सुविधा ! (कसरी लिने नागरिकता)

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०८०, बुधबार ०९:१९

लण्डन । गैर आवासीय नेपालीहरूलाई दोहोरो नागरिकता राख्ने सुविधाको लागि बाटो खुलेको छ ।

नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नागरिकता पाउने भएका हुन्। उनीहरुले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिदा विदेशी नागरिकता परित्याग गर्नु पर्दैन् ।

अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्। गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने छन् ।

गैरआवासीय नेपालीहरुका अधिकारहरुका बारेमा भने एनआरएनए ऐनले छुट्टै व्याख्या गर्ने छ तर गैर आवासीय नागरिकताले भोट दिन, चुनाव लड्न, पासपोर्ट बनाउन पाउने छैनन्। तर सम्पत्ति राख्न, व्यापार (व्यवसायमा लगानी गर्न पाउने बताइएको छ ।

गैर आवासीय नागरिकता पाउन पाँच वटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।

– नागरिकता लिन चाहने व्यक्तिका बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको प्रमाण।
– पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको प्रमाण।
– विदेशी मुलुकको नागरिकता लिएको प्रमाण।
– दक्षिण एसियाली बाहेकका मुलुकमा बसोबास गरेको प्रमाण।
– नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र।
– झुटा विवरण बुझाएर गैर आवासीय नागरिकता लिने व्यक्तिलाई तीन महिनादेखि एक वर्षसम्म कैद र २५ हजारदेखि ५० हजार रुपैयाँ जरिवाना हुनेछ।

यसरी कायम राख्न सकिन्छ वंशजको नागरिकता
गैरआवासीय नेपालीहरुले आफ्नो पुरानो अर्थात वंशजको नागरिकता कायम राख्न चाहेमा विदेशी नागरिकता त्याग गरे पछि लिन सक्ने छन् । विदेशी नागरिकता परित्याग गरेको हिस्सा जिल्ला प्रशासन कार्यालयमा पेश गरे पछि साविकको नागरिकता कायम रहनेछ । उनीहरुलाई राजनीतिक लगायतका सबै नेपाली सरह अधिकार रहने छन् ।