१६ बैशाख २०८१, आईतवार
Follow Us

११ औं एनआरएनए विश्व सम्मेलनको उद्धघाटन राष्ट्रपति पौडेलले गर्ने

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०८०, बिहीबार १३:११

लण्डन । गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग विहिवार भेटेर सो सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिएको संघले जनाएको छ ।

संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखी २० सम्म काठमाण्डौंमा हुँदैछ ।

भेटका अवसरमा संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनको तयारी बारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
पौडेलले सो सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए ।

सोही अवसरमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्गप्रशस्त गरेकोमा धन्यवाद व्यक्त गरे ।
उनले हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको जानकारी दिए ।
अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरे ।

सम्माननीय राष्ट्रपति पौडेलले नियमावलीमा अप्ठ्यारा र झन्झटिलो प्रावधान समेटिनु नहुनेमा आफू पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो । गैरआवासीय नेपाली संघको परम्परा अनुसार संघको विश्व सम्मेलनको उद्धघाटन सत्रमा राष्ट्रपति र समापन समारोहमा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ ।