२६ बैशाख २०८१, बुधबार
Follow Us

जे हुनु भैसक्यो, त्यसलाई बिर्षेर अघि बढौं : शेष घले, एनआरएनए पूर्वअध्यक्ष

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८०, शुक्रबार २३:१२

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले विगतमा भएका कमी कमजोरीहरुलाई बिर्षेर अघि बढ्न आग्रह गरेका छन् ।
घलेले गैरआवासीय नेपाली संघ बेल्जियमले शुक्रवार साँझ लुभेनमा गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली अभियानलाई नयाँ ढंगले वस्तुपरक भएर अगाडि बढाउनु पर्ने बताए ।

‘अधिवेसन भन्ने कुरा ठूलो कुरा होइन् । त्यो कुरा बिर्षिदिउ । अब त्यता नअल्झिकन वृहत पिक्चरका साथ अघि बढौं । कसैलाई आरोप नलगाऔं । जे हुनु भईसक्यो भयो । अब सकरात्मक रुपमा अघि बढौं’ घलेले भने ।

घलेले संघको १० औं महाधिवेशनमा भएका विबाद र कमजोरी सच्याएर संस्थालाई गतिशिल बनाउन आग्रह गरे ।

घलेले १० औं महाधिवेसन र निर्वाचन कसरी आयोजना गर्ने भन्ने विषयलाई समयमा समाधान गर्न नसकिएकोले एनआरएन अभियानमा निकै ठूलो क्षति पुगेको स्वीकार गरे ।

‘१० औं महाधिवेसन संस्थाको जीवनको एउटा इभेण्ट थियो, त्यो एभेन्टमा केही कमजोरी भयो र संस्थाको छवि धुमिल बन्यो, अब त्यसका आधारमा एकअर्कालाई दोषारोपण गर्नु भन्दा सकारात्मक सोच राखेर विदेशमा बसेका नेपालीहरुको भलाईका लागि र देशको समृद्धिका लागि सामूहिक प्रयत्न गरौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व संरक्षक दिल गुरुङले एनआरएनए भित्र भएको राजनीतिक चलखेलले गर्दा समस्या सुरु भएको बताए । उनले विदेशमा बस्ने नेपालीहरुको हितमा एनआरएनए नेतृत्वले काम गर्नु पर्नेमा जोड दिए ।

एनआरएनएका केन्द्रीय सचिब गंगाधर गौतमले संस्थाको रुपान्तरणका लागि निर्मम भएर समिक्षा गरेर आगामी कदम चाल्नु पर्ने बताए ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव रुबिना शर्माले गरेकी थिइन् । कार्यक्रममा एनआरएनए बेल्जियमकी उपाध्यक्ष इन्दिरा चाम्लिङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

संघका पूर्वप्रमुख संरक्षक समेत रहेका घले पारिवारीक जमघटमा भाग लिन बेल्जियम पुगेका हुन् ।