१६ बैशाख २०८१, आईतवार
Follow Us

पाकिस्तानमाथि भारतको फराकिलो जित

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०८०, मंगलवार ०५:२७

कोलम्बो । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । कोलम्बोमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएको हो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे । त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए । पाकिस्तानका कप्तान बाबर आजमले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा भारतका कुलदिप यादवले ५ विकेट लिएका थिए । त्यस्तै जस्प्रीत भुम्राह, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले एक–एक विकेट लिए ।

त्यसअघि आइतबार वर्षाले खेल प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोडेको थियो । भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे ।

कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे । कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका छन् । कोहलीको यो ४७औं एकदिवसीय शतक हो । पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १-१ विकेट लिए ।