२१ असार २०८१, बिहीबार
Follow Us

२५ बुँदे घोषणापत्र सहित एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
११ आश्विन २०८०, बिहीबार १८:१४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् ।

बिहीवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी थापाले उक्त घोषणा गरेकी हुन् ।१०औं महाधिवेशनमा निर्वाचन हुन नसकेपछि उनी लगायतका अध्यक्ष पदका तीनैजना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने सहमति भएको थियो ।

उनले आफनो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको, गैरआवासीय नेपाली नागरिकताका लागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौं राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको स्मरण गरिन् । उनले आफ्नो कार्यकालमा संघको काठमाण्डौंस्थित कार्यालयको पूर्वाधार विकास, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सेवा शुरु गरिएको (३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा), विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने हटलाइन सेवा शुरु गरिएको बताइन् । संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता धेरै काम भएको उनको भनाइ छ ।

गैरआवासीय नेपाली संघको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिँदै थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दावी गरिन् । निर्वाचनलाई भड्किलो बनाउन नहुनेमा जोड दिँदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन, एनआरएनएका प्रत्येक पंजिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको बताइन् ।

विदेशमा रहेका नेपालीहरुको हक हित र समस्या मा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो, ’ अध्यक्ष थापाले भनिन्, ‘यो न त कुनै राजनीतिक भातृ संगठन हो न त कुनै व्यापारिक या व्याववसायिक संस्था नै हो ।’ विदेशमा वस्ने नेपालीहरु सबैको अवस्था एउटै नभएको उल्लेख गर्दै खाडीमा काम गर्ने श्रमिक दाजुभाईदेखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत बनाएका सबैको भावनाको प्रतिनिधित्व हुने नेतृत्वमा उनले जोड छ ।

उनले विधान विपरित प्यानल बनाएर निर्वाचनमा जाँदा संघमा मनमुटाव वढेको उल्लेख गर्दै ११ औं महाधिवेशनमा प्यानल पूर्ण रुपमा निषेध गरिनुपर्नेमा जोड दिइन् । चरम गुटबन्दी, राजनीतिक चलखेल, विवाद र व्यापारीकरणले संघको गरिमा घटेको र गलत सन्देश गएको उल्लेख गर्दै थापाले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठी सक्षम, सबल गतिशील र संयोजनकारी नेतृत्व चयन गर्न एनआरएनएका महाधिवेशन प्रतिनिधिलाई आग्रह गरिन् ।

सो अवसरमा सार्वजनिक गरिएको थापाको २५ बुँदे घोषणापत्रमा संघको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख छ । त्यस्तै स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, संचार, कृषि उर्जा लगायतका विभिन्न क्षेत्रमा उनको योजना र अवधारणा घोषणापत्रमा समेटिएकोछ ।

पत्रकार सम्मेलनमा थापाले विदेशमा रहेका नेपालीहरुलाई बंशजकै नागरिकताको निरन्तरता देखि श्रम स्वीकृति लिएर गएका श्रमिक जी टु जीबाट जाने नेपाली र विद्यार्थी भिसामा गएका विद्यार्थीहरुलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने बताइन् ।