२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूकेले तोक्यो ११ विभाग संयोजक, को कोले जिम्मेवारी पाए ?

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०८०, सोमबार २३:५४

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विभिन्न ११ विभाग गठन गरेको छ । अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा गत २५ सेप्टेम्बरमा अल्डरसटमा बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो भौतिक बैठकले विभागका संयोजक समेत तोक्ने निर्णय गरेको हो।

महासचिव गोविन्द शर्मा खरेलका अनुसार, गठित विभागहरुमध्ये खेलकुद तथा विद्यार्थी संयोजन विभागमा युवा संयोजक सुजित शाही, महिला संयोजन विभागमा महिला संयोजक रोजिना गुरुङ, आर्थिक विभागमा कोषाध्यक्ष विष्णु खरेल, धर्म, संस्कृति, भाषा तथा कला विभागमा उपाध्यक्ष मनिष खत्री, राज्य समन्वय विभागमा उपाध्यक्ष कृष्ण भण्डारी, व्यापार तथा व्यवसाय विभागमा सचिव तिलक भट्टराई, च्यारिटी विभागमा उपाध्यक्ष सुरेश परियार, संघसंस्था समन्वय विभागमा उपाध्यक्ष लीलाराम निउरे, पर्यटन विभागमा उपाध्यक्ष सपना खनिया, विधान संशोधन विभागमा उपाध्यक्ष रविन्द्र कंडेल र एक एनसीसी एक प्रोजेक्टमा अध्यक्ष हितकाजी गुरुङ संयोजक चुनिएका छन्।

बैठकले संघको च्यारिटी ट्रष्टी तथा बैंक खातासम्बन्धि निर्णय पनि गरेको छ । गैरआवासीय नेपाली संघको नयां कार्यसमिति केन्द्रिय परिषदको निर्वाचन प्रक्रियाद्वारा निर्वाचित भएको र च्यारिटी कमिसनको ट्रष्टी छनौट प्रक्रिया संघको निर्वाचन प्रक्रियाभन्दा भिन्न हुने भएकोले वर्तमान ट्रष्टीहरुको भौतिक बैठक बसी कार्यसमितिलाई पुनः नयां ट्रष्टी चयनका लागि अधिकार दिनु पर्नेमा सर्वसम्मत निर्णय गरिएको छ ।

जसका लागि वर्तमान ट्रष्टीहरुले च्यारिटी कमिसनसंगको वर्तमान अवस्था तथा सम्बधित आर्थिक स्थितिको बारेमा कार्यसमितिलाई नबुझाएसम्म कार्यसमितिलाई ट्रष्टी चयन गर्न अप्ठ्यारो हुने भएकाले वर्तमान कार्यसमितिमा रहने ट्रष्टीहरुलाई सम्पूर्ण ट्रष्टीहरुसंग बैठक बसी पूर्ण जानकारी कार्यसमितिलाई प्रस्तुत गर्न अनुरोध गरिएको छ ।

बैठकले केन्द्रिय परिषदको ११औं महाधिवेशनका लागि पठाइएका प्रतिनिधि नामावली पुनः स्वीकृत गरेको छ।

गैरआवासीय नेपाली संघ यूकेका कार्यसमितिका पदाधिकारीहरुसंग परामर्श गरी गत ३१ अगस्ट २०२३ का दिन केन्द्रमा पठाइएका ९० तथा १० प्रतिशत प्रतिनिधिहरुलाई पुनः सर्वसम्मत रुपमा स्वीकार तथा पारित गरिएको हो ।

उक्त दिन केन्द्रमा पठाइएका प्रतिनिधिहरु नै बेलायतको तर्फबाट पठाइएका अन्तिम प्रतिनिधि हुने स्पष्ट पारिएको छ। बेलायतको सन्दर्भमा एनआरएनए एनसीसीले निर्णय गरि पठाइएका प्रतिनिधिबारे केन्द्रबाट जबरजस्त हस्तक्षेप गर्न नहुनेमा सम्पूर्ण कार्यसमिति एकमत थियो ।

बेलायतको स्थितिलाई नबुझी जबर्जस्ती हस्तक्षेप गरेमा बेलायतको सामाजिक सद्भावमा असर पर्ने हुनाले उक्त निर्णयलाई केन्द्रले विशेष ध्यान दिनुपर्ने मा कार्यसमितिको सहमति भयो ।

बैठकमा गैरआवासीय नेपाली संघका विभिन्न कार्यकालमा बैंक खाता खोल्ने र बन्द गर्ने प्रक्रियाले संघका जम्मा कति बैंक खाता छन् भन्ने बारेमा वर्तमान कार्यसमितिसंग कुनै रेकर्ड नभएकाले उक्त कार्यका लागि संघका वर्तमान कोषाध्यक्ष विष्णु खरेललाई सम्पूर्ण खाता के कति र कहां छन् भन्ने बारेमा विवरण संकलन गर्न जिम्मेवारी दिइएको छ ।

बैठकमा गैरआवासीय नेपाली नागरिकताको नियमावली प्रकाशित भएपश्तात नागरिकता प्राप्त गर्ने प्रक्रिया, नेपाली राजदूतावाससंग समन्वय गर्नेबारे समेत छलफल भएको थियो।

आगामी बैठक भर्चुअल माध्यमद्वारा गर्ने र मिति र समय पछि जनाइने बताइएको छ ।

बैठकमा अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्षहरु रविन्द्र कंडेल, सुरेश परियार, मनिष खत्री, कृष्ण भण्डारी, लिलाधर निउरे र सपना खनिया, महासचिव गोविन्द खरेल, सचिव तिलक भट्टराई र सरोज थापा, कोषाध्यक्ष विष्णु खरेल, सह–कोषाध्यक्ष हेम गुरुङ, युवा संयोजक सुजित शाही, महिला संयोजक रोजिना गुरुङ, सदस्यहरु राम थापा, सन्दिप पुडासैनी, पम्फा क्षेत्री (विनिता), गंगाबहादुर क्षेत्री, काशीराज बोहोरा, राज्य समन्वय परिषद इंग्ल्यान्ड अध्यक्ष शम्भु अर्यालको उपस्थिति थियो ।