१ फाल्गुन २०८१, बिहीबार
Follow Us

उपाध्यक्ष पदमा डा. हेमराज शर्माको उम्मेद्वारी दर्ता

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०८०, सोमबार ०४:२०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुबर १९ मा हुने निर्वाचनका लागि उपाध्यक्ष डा. हेमराज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा मध्यपूर्वका अभियान्ता राजु सैयद र बेलायतका अंकराज तिमल्सिना रहेका छन् भने समर्थनमा प्रवक्ता शिवकुमार बरुवाल छन् । निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता गराउने आज अन्तिम दिन हो ।

को हुन् डा. हेम राज शर्मा ?
संघको पूर्वप्रवक्ता तथा महासचिवको जिम्मेवारी सम्हालिसकेका डा. शर्माले महासचिवको बागडोर सम्हालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पञ्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका छन् ।

कुशल प्रशासक समेत रहेका डा. शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुनरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डा. शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघ समक्ष पुगेर गैरआवासीय नेपाली संघलाई पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायसँग सहकार्यको सुरुवात गरेका थिए ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल समेत हासिल गरेका छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

५० भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । डा.शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन् ।