१२ श्रावण २०८१, शनिबार
Follow Us

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका १ अर्ब ४१ करोड रकम निकासा

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८०, सोमबार १२:४०

काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्न रकम निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि भुकम्प प्रभावित पाँच जिल्लामा पहिलो किस्ताका लागि कुल १ अर्ब ४१ करोड रकम निकासा गरेको हो ।

प्राधिकरणका अनुसार जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ पठाइएको छ। बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड पठाएको छ ।

भूकम्प पीडित प्रतिपरिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी कूल ५० हजार रुपैयाँ दिने सरकारले निर्णय अनुसार पहिलो किस्ताको रकम निकासा गरिएको प्राधिकरणका सह-सचिव जय नारायण आचार्यले नेपाल टिभी अनलाईनलाई जानकारी दिनुभयो ।

भुकम्पपीडितले अस्थायी आवास निर्माणका लागि निवेदन दिए लगत्तै पहिलो किस्ताबापत २५ हजार रुपैयाँ पाउने छन् भने निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ उपलब्ध गराइने सहसचिव आचार्यले बताउनु भयो ।

गत कार्तिक १७ गते जारकोट केन्द्रविन्दु गरी गएको भुकम्पबाट २६ हजार ५ सय ५७ घरमा पूर्ण रुपमा र ३५ हजार ४ सय ५५ घरमा आंशिक क्षति भएको थियो । भुकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने ३३६ जना घाइते भएका थिए ।