११ श्रावण २०८१, शुक्रबार
Follow Us

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८०, बिहीबार ०५:०३

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।

प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।

प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।

प्रदर्शनको समयमा अन्य सुरक्षा चुनौती नभएको तर, दुई समूहको बिचमा ‘मुठभेड’ हुन सक्ने सुरक्षा चुनौती रहेको सुरक्षा निकायहरूको विश्लेषण छ ।