१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनएमा ३६ समिति गठन, पुर्नरनिमार्णमा केन्द्रीत हुने निर्णय

नेपालब्रिटेन डट कम्
१० मंसिर २०८०, आईतवार १८:०७

लण्डन । गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिम केन्द्रीत रहेर पुर्नरनिमार्णमा सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्त पन्तका अनुसार आइतवार बसेको संघको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले संघको ११ औं महाधिवेसनका क्रममा निर्वाचन प्रकृयामा देखिएको असन्तुष्टीलाई सम्बोधन गर्ने उदेश्यले एक अन्तराष्ट्रिय अडिट कम्पनी खोज्न ११ जना रहेको विषेश समिति गठन गरेको छ ।

वैठकले पोर्तुगलमा गतसाता निधन भएका धन बहादुर क्षेत्रीको परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संघले जनाएको छ ।

बैठकले संघको वैदेशिक रोजगार कल्याणकारी राहात कोष अन्तर्गत रहेको फन्डबाट नेपालमा शव ल्याउन परेमा नियमित सहयोग जारी राख्ने निर्णय गरेको छ।

बैठकले जनवरी २०, २१ मा नेपालमा फेस टु फेस बृहत बैठक गरेर संघका आगामी दुई वर्षको लागि कार्ययोजना तय गर्ने तथा संघभित्र भिजन २०५० एण्ड बियोंड अघि सार्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संगठन विस्तारको लागि ३६ वटा समिति गठन गरेको छ । बैठकले ती समिति मध्य केहीमा संयोजक समेत तोकेको छ ।

संघका अनुसार सय मिलियन फण्ड परियोजनाको संयोजकमा डा. बद्री केसी, स्मार्ट एनआरएनएको संयोजकमा गौरीराज जोशी, मिडिया समितिको संयोजकमा फणिन्द्र पन्त, सामाजिक साझेदारी समिति संयोजकमा सुदन थापा, लेखापरीक्षण समितिको संयोजकमा इन्द्र लामा, वान एनसीसी वान परियोजनाको संयोजकमा डा. हेम राज शर्मा, पर्यटन प्रवद्र्धन समितिको संयोजकमा सोम सापकोटा, भाषा तथा साहित्य समितिको संयोजकमा भिमकमल केसी, संस्कृति र सम्पदा समिति संयोजकमा प्रविन गुरुङ्ग तोकिएका छन् ।

यस्तै, वैदेशिक रोजगार राहत कोष समिति संयोजकमा राज रेग्मी, सामाजिक सुरक्षा कोष समितिको संयोजकमा मनोज श्रेष्ठ, व्यापार र लगानी प्रवद्र्धन समितिको संयोजकमा डा. केशव पौडेल, कृषि समितिको संयोजकमा प्रोफेसर जगदिश तिमल्सीना, नेपाल विज्ञान प्रतिष्ठानको संयोजकमा डा. राजु अधिकारी, नेपाली नागरिकता निरन्तरता समितिको संयोजकमा रामशरण सिमखडा चयन भए ।

बैठकले पिएनओको संयोजकमा कुमार कार्की, भूपूगोर्खा कल्याणकारी समितिको संयोजकमा चन्द्र गुरुङ, महिला कल्याण कोष समितिको संयोजकमा रोजिना प्रधान राई, महिला उद्यमशीलता समितिको संयोजकमा अमृता थापा, सडक वालबालिका समितिको संयोजकमा टिका गुरुङ (राधिका), महिला सशक्तिकरण समितिको संयोजकमा अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, अनुशासन समिति, संविधान व्याख्या समिति, संविधान संशोधन समिति, पर्यवेक्षण समिति, अनुगमन र मूल्याङ्कन समिति, एक प्रदेश एक मोबाइल ब्लड बस परियोजना, बाल शिक्षा सहयोग समिति, विपद् व्यवस्थापन समिति, वैदेशिक रोजगार समिति, विदेशमा नेपाली सामान प्रवद्र्धन समिति, मताधिकार समिति, एनआरएनए ग्लोवल नेपाली डायस्पोरा एकता समिति, खेलकुद एकेडेमी, दोस्रो पुस्ता र युवा परिचालन समिति, विद्यार्थी तथा युवा उद्यमशीलता समितिको संयोजक पछि तोक्ने बैठकले निर्णय गरेको छ ।

खेलकुद

बैठकले विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने सहयोग गर्ने समेत निर्णय गरेको छ । पोर्तुगल निवासी निशान हमाल नेपालको राष्ट्रिय टिममा छनोट भएकोमा बैठकले बधाई ज्ञापन गर्दै तथा खुशी व्यक्त गरेकोे छ । यस्तै, माल्टा निवासी सुरज दराइ, माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा र सुस्मा दाहाल, ज्योति न्यौपाने र प्रतिभा भण्डारी माल्टाको महिला राष्ट्रिय क्रिकेट टिममा छनोट हुनुभएकोमा उनीहरुको प्रोत्सान स्वरुप जनही रु १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तराष्ट्रिय टि २० मा छनोट भएकोमा राष्ट्रिय टिमलाई हार्दिक बधाई ज्ञापन गरेको छ । खेलाडीहरुको सम्मानको लागि संघले तत्काल रु १० लाख सहितले सम्मान गर्ने निर्णय गरेको छ।