१२ श्रावण २०८१, शनिबार
Follow Us

तीन दिनको हवाइ हमलापछि इजरायली स्थल सेना दक्षिणी गाजातर्फ अगाडि बढ्दै

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०८०, सोमबार ०७:०४

इजरायली स्थल सेना तीन दिनको भारी बमबारी पछि दक्षिणी गाजातर्फ अगाडि बढेको छ । इजरायली सेनाले खान युनिसको उत्तरतर्फबाट स्थलगत आक्रमण शुरु गरेको इजरायली सेनाको रेडियोबाट प्राप्त प्रारम्भिक रिपोर्टले पुष्टि गरेको छ ।

इजरायलको स्थल आक्रमणलाई बिबिसीले पनि पुष्टि गरको छ । इजरायली सेनाका प्रमुखले दक्षिणी गाजामा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको बताउनु भयो । साथै इजरायली सेनाले सैन्य कारवाहीका क्रममा हमासका केही कमाण्डरहरुलाई मार्न सफल भएको पनि बताइएको छ ।

उत्तरी गाजामा सशक्त कारवाही गरेको इजरायलले अब दक्षिणी गाजा पट्टीमा आफ्नो सैन्य कारवाही अघि बढाएको हो । इजरायली सेनाले खान युनिसका कयौं क्षेत्रका नागरिकहरुलाई तत्काल सो स्थान छोडेर अन्यत्र जान निर्देशन दिइसकेको छ ।

एक साता लामो युद्धविराम शुक्रबार अन्त्य भएसँगै इजरायलले भारी मात्रामा बमबारी शुरु गरेको हो । युद्धविरामको अवधिमा २ सय ४० जना बन्धक मध्ये हमासले १ सय १० जनालाई मुक्त गरेको छ ।

यसैगरी इजरायलले पनि २ सय ४० जना प्यालेस्टाइनी कैदीलाई रिहा गरेको छ । फेरि द्वन्द्व शुरु भएपछि हमासको कब्जामा रहेका बन्धकका परिवारमा भने निराशा र अन्योल छाएको छ ।