१२ श्रावण २०८१, शनिबार
Follow Us

बालकुमारी तनाव अपडेट: प्रदर्शनमा घाइते २ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८०, शुक्रबार ११:२०

काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनले उग्ररुप लिएपछि भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने त्यसक्रममा भएको भागदौडमा अर्का एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोली लागेर गम्भीर घाइते भएका विरेन्द्र शाहको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिनुभयो । यसैगरी प्रदर्शनका क्रममा भएको भागदौडमा गम्भीर घाइते भएर किस्ट अस्पतालमा उपचारका लागि लगिएका जुम्लाका २३ वर्षीय सुजन राउतको पनि मृत्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढ्नुभएको बा २ झ ५८६१ नम्बरको जीपमा पनि आगजनी गरेका छन् ।

मन्त्री ज्वाला र उहाँको सुरक्षार्थ रहेका दुई जना पिएसओलाई जीपबाट बाहिर निकालेर प्रदर्शनकारीले जीपमा आगो लगाएका थिए । गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अदालत जाने बाहेकका परिक्षार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।