ब्रेकिङ न्युज

देउवा कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २१ देखि काठमाडौंमा हुने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताएका छन् ।

मंगलबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताएका हुन् ।

महाधिवेशनको तयारीबारे जानकारी दिँदै उनले हालसम्म ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको बताए । त्यस्तै, २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र थप चार जिल्लामा प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।

छोटो समयमै देशभरका पार्टी कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा अधिवेशन प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै महतले विभिन्न तहका अधिवेशन स्थानीय कार्यकर्ताले आफ्नै स्रोतसाधन र स्वैच्छिक सहयोगमा सम्पन्न गरिरहेको बताए ।

विशेष अधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको मान्यतामाथि प्रश्न उठाउँदै उनले त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकन प्रक्रिया अघि बढिरहेको जानकारी दिए । अदालतको पुनरावलोकनबाट देउवा नेतृत्वकै कांग्रेसले आधिकारिक मान्यता पाउने उनको विश्वास छ ।

विशेष अधिवेशनको प्रक्रिया विधि र विधानअनुसार नभएको दाबी गर्दै महतले त्यसलाई मान्यता दिलाउन भएका भनिएका गतिविधिबारे गहिरो अनुसन्धान हुनुपर्ने माग गरे ।

उनले नेपाली कांग्रेसको वैचारिक तथा सांगठनिक पहिचानसमेत विशेष अधिवेशनबाट आएको नेतृत्वले जोगाउन नसकेको आरोप लगाए । बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादी विचार र पार्टीभित्र सहमतिका आधारमा निर्णय गर्ने परम्परालाई आफूहरूले निरन्तरता दिइरहेको उनको भनाइ थियो ।

महतले देशभरका नेता तथा कार्यकर्तालाई मंसिर २१ देखि हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम