१२ श्रावण २०८१, शनिबार
Follow Us

नेपालका भूकम्प पीडितको सहयोगार्थ लन्डनमा गजल सांझ

नेपालब्रिटेन डट कम्
२६ पुष २०८०, बिहीबार ०६:३८

लन्डन । पश्चिम नेपालका भूकम्प प्रभावित महिला तथा बालबालिकाका लागि न्यानो कपडा लगायतका सहयोग जुटाउन मंगलबार सांझ लन्डनमा एक गजल सांझ योजना गरियो ।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला फोरमद्वारा ह्यारोमा आयोजित गजल साँझका प्रमुख आकर्षण थिए लोकप्रिय गजल गायक राज सिग्देल । भारतीय मूलका तबला वादक राज दत्तात्रय तथा गितार वादक दानी रमजानको साथमा प्रस्तुत लाइभ संगीतमा गायक सिग्देलको सुमधुर गजल गायनले उपस्थित दर्शक मन्त्रमुग्ध भएका थिए ।

‘उ जितेर गई वा हारेर गई’, ‘च्वास्स घोच्ने तिम्रो माया’, ‘लगाएर माया कुनै पल तिमीले’ सहित आफ्ना झन्डै दर्जन लोकप्रिय गजल सुनाउंदा राजले सबैको ताली पाए । अन्य केही कालजयी नेपालीदेखि हिन्दी गीत र गजलसम्म सुनाएर उनले दर्शकलाई भरपूर मनोरञ्जन दिलाए ।

बेलायतस्थित दुई गजलकार सन्जिता देउजा एवं नारायण गाउंलेले पनि मीठा गजल सुनाएर श्रोताको मन जिते । कार्यक्रममा अजिता सिम्खडा, कृष्ण भट्ट, बासु लामिछाने लगायतका श्रष्टाले आफ्नो रचना सुनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले बेलायतमा बसेर पनि नेपालमा भूकम्पपीडित महिला तथा बालबालिकाका लागि सहयोग जुटाउन पहल गरेकोमा एनआरएनए युरोप महिला समितिको प्रशंसा गरिन्। उनले यस खालका कार्यक्रममा दूतावासले पनि प्रोत्साहन गर्ने बताइन् ।

लन्डन बरो अफ ह्यारोका मेयर काउन्सिलर रामजी चौहानले च्यारिटी लक्षित कार्यक्रमको सराहना गर्दै कार्यक्रमले सामाजिक सद्भाव अभिवृद्धि गर्ने बताए। उनले विविधतामा एकताका लागि काउन्सिलले काम गरिरहेको बताए।

ग्रीनवीच बरो काउन्सिलका डेपुटी मेयर जित रानाभाटले महाभूकम्पका बेला प्रसुना कंडेलसहितको टोलीसंग सहकार्य गरि राहतमा जुटेको प्रसंग स्मरण गरे । एनआरएनए आइसीसी उपाध्यक्ष रामशरण सिम्खडाले पनि महिला फोरमको प्रशंसा गरे ।

कार्यक्रम संयोजक प्रसुनाले सहभागी र प्रायोजक सबैप्रति आभार व्यक्त गरिन् । उनले रुकुम तथा जाजरकोटका भूकम्प पीडित महिला बालबालिकाका लागि न्यानो कपडा, पछ्यौरा, स्यानिटेरी प्याड, चप्पल र दूध बांड्न सानै भएपनि प्रयास गरिएको बताइन् । कार्यक्रममा लागेको खर्च कटाइ बचेको पैसा जनवरीभित्रै पीडितसम्म पुरयाइने उनले जनाइन् ।

केही साताअघि पश्चिम नेपालमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण रुकुम र जाजरकोटवासी यो जाडोमा संकटपूर्ण जीवन बांचिरहेका छन् । चिसोका कारण सुत्केरी महिला तथा शिशुको समेत ज्यान गएको खबर आइरहेका छन् ।