२३ बैशाख २०८१, आईतवार
Follow Us

कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले ‘एनआरएनए मोबाइल ब्लड बस’ हस्तान्तरण गर्ने

नेपालब्रिटेन डट कम्
२८ पुष २०८०, शनिबार १९:२५

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले तीनवटा प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघले कोशी प्रदेश, मदेश प्रदेश, लुम्बिनी प्रदेशमा आगामी हप्ता ती मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको हो ।

गैरआवासीय नेपाली संघका अनुसार कोशी प्रदेशको धरानमा आयोजना हुने विशेष कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री केदार कार्कीले हस्तान्तरण गर्ने भएका छन् ।

१७ जनवरीमा आयोजना हुने सो कार्यक्रम गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी तथा सरकारी उच्चअधिकारीहरुको उपस्थिति रहने छ ।

गैरआवासीय नेपाली संघले जनवरी १६ देखि २६ सम्मको १० दिने कार्यतालिका सार्वजनिक गर्दै जाजरकोट र पश्चिम रुकुममा छात्रछात्राहरुलाई ‘न्यानो कपडा’ वितरणको कार्यक्रम समेत तय गरेको छ ।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक यहि जनवरी २१ र २२ तारिख काठमाण्डौंमा बस्दैछ । बैठकले एनआरएनएको दुई वर्षे कार्य योजना तर्जुमा गर्ने बताइएको छ ।

संघले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानी लगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यस्तै संघले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्ने र महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट अवलोकन गर्ने कार्यक्रमतय गरेको छ ।

संघले बैजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुरमा निर्मित छात्रा शौचालय, नेपाल क्रिकेट संघलाई टि – २० विश्वकपमा सहभागिताको आर्थिक सहयोग हस्तातरण गर्ने भएको छ ।

यस्तै, कंगोमा मृत नेपालीको परिवारको सहयोगार्थ एनआरएनए राष्ट्रिय समिति कंगोद्वारा संकलन गरिएको सहयोग रकम हस्तातरण र सुदुर पश्चिम प्रदेशमा लगानी सम्मेलन सम्बन्ध संघले विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ ।